मुम्बई । टेलिभिजनका चर्चित कलाकारहरू करण वाही र जेनिफर विङ्गेट यतिबेला आफ्नो व्यक्तिगत जीवनका कारण चर्चाको केन्द्रमा छन् । केही समययता सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा उनीहरूले विवाह गर्न लागेको दाबीसहितका समाचारहरू निरन्तर फैलिरहेका छन् ।
यद्यपि, यी हल्लाहरूमा कुनै सत्यता नभएको पुष्टि भएको छ। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार करण वाहीले यी सबै खबरहरूलाई सिधै अस्वीकार गर्दै भ्रामक समाचार भएको स्पष्ट पारेका छन्। करणको यो बयानसँगै उनीहरूको विवाहलाई लिएर भइरहेका अड्कलबाजीहरूमा तत्कालका लागि पूर्णविराम लागेको छ ।
करण र जेनिफर लामो समयदेखि उद्योगका निकै नजिकका साथीहरू हुन्। उनीहरूले आफ्नो करियरको सुरुवाती चरणमा चर्चित टीभी शो ‘दिल मिल गए’ मा सँगै काम गरेका थिए । उक्त शोमा जेनिफरले डा. रिद्धिमा गुप्ता र करणले डा. सिद्धान्त मोदीको भूमिका निर्वाह गरेका थिए । करिब १४ वर्षपछि सन् २०२४ मा उनीहरू वेब सिरिज ‘रायसिंघानी भर्सेस रायसिंघानी’ मा पुनः एकसाथ देखिएका थिए । पर्दामा उनीहरूको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको र विवाह गर्न लागेको हल्ला चल्न थालेको हो । व्यक्तिगत जीवनको कुरा गर्दा करण वाही लामो समयदेखि अविवाहित छन् भने जेनिफर विङ्गेटको यसअघि अभिनेता करण सिंह ग्रोभरसँग विवाह भएको थियो। सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका उनीहरू दुई वर्षपछि सन् २०१४ मा छुट्टिएका थिए ।
हाल दुवै कलाकार आ–आफ्नो नयाँ प्रोजेक्टमा व्यस्त छन् । जेनिफर छिट्टै नेटफ्लिक्सको एक वेब सिरिजमा देखिनेछिन्, जसमा परिणीति चोपडा र ताहिर राज भसिनको पनि अभिनय रहनेछ। त्यस्तै, करण वाही सुरभि ज्योतिसँग शो ‘सेभेन एण्ड ए हाफ डेट्स’ मा देखिने तयारीमा छन् । सौजन्य यात्रा डेली

