काठमाडौं, १६ माघ । क्विन्टन डिककको विस्फोटक शतकको मद्दतमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल सात विकेटले जित्दै शृंखला आफ्नो पक्षमा पारेको छ । सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा २२२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा २२५ रन बनाएर जित हासिल गरेको हो । डि ककले ४९ बलमा ११५ रन बनाउँदै शानदार इनिङ्स खेले। ४३ बलमै शतक पूरा गरेका उनले १० छक्का र ६ चौका प्रहार गरे । उनीसँगै ब्याटिङ गरेका रायन रिकेल्टनले नटआउट ७७ रन बनाए। दुवैबीच दोस्रो विकेटका लागि १६२ रनको साझेदारी भयो, जसले खेल पूर्ण रूपमा दक्षिण अफ्रिकाको पक्षमा मोडेको थियो । यसअघि वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २२१ रन बनाएको थियो। शिमरोन हेटमायरले ७५ रन, शेरफेन रदरफोर्डले नटआउट ५७ रन, ब्रान्डन किङले ४९ रन बनाउँदै ठूलो स्कोरसम्म पुयाएका थिए । दक्षिण अफ्रिकाका लागि बलिङतर्फ केशव महाराजले २ विकेट लिए । कागिसो रबाडा र मार्को यान्सेनले १–१ विकेट लिए । नयाँ प्रशिक्षक शुक्री कोनराडको नेतृत्वमा दक्षिण अफ्रिकाले पहिलो टी–२०आई शृंखला जित हासिल गयो । यसअघि पहिलो खेलमा पनि दक्षिण अफ्रिकाले सहज जित हासिल गरेको थियो । सौजन्य अनलाइनखबर

