Loktantra Khabar National Weekly
Ad

नेपाल विश्वविद्यालय र भारतको आईआईएस्सी बैंगलोरबिच प्राज्ञिक सहकार्यको सम्झौता

लोकतन्त्र खबर
१६ माघ २०८२

काठमाडौँ । नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबिच प्राज्ञिक सहकार्यका लागि बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।
नेपाल विश्वविद्यालयको स्वायत्त शासकीय स्वरूप र उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्ने योजनामा आईआईएस्सी जस्तो विश्वस्तरको संस्थासँगको साझेदारीलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । सम्झौताका क्रममा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले विश्वविद्यालयको समग्र संरचना र भावी योजनाबारे प्रस्तुति दिएका थिए ।

आईआईएस्सीका निर्देशक प्रा. गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयले स्नातक तहमा सुरु गर्न लागेको ‘एकीकृत विज्ञान’ को पाठ्यक्रम आफ्नो संस्थासँग मिल्दोजुल्दो रहेको भन्दै सहयोगका लागि तत्परता व्यक्त गरे ।
यस सहकार्यले विद्यार्थीको अध्ययन–अध्यापन, प्राध्यापकहरूको क्षमता अभिवृद्धि र उच्चस्तरीय अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास नेपाल विश्वविद्यालय कार्यकारी समितिका अध्यक्ष लालकृष्ण केसीले व्यक्त गरे ।

आइआईएस्सीको निमन्त्रणामा बैंगलोर पुगेको नेपाल विश्वविद्यालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले त्यहाँका विभिन्न संकायका डीन, विभाग प्रमुख र प्राध्यापकहरूसँग छलफल गरेको थियो। सो क्रममा नेपाली टोलीले विज्ञान शिक्षक तालिम, जलवायु परिवर्तन, दिगो प्रविधि र सीप विकासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न चल्लाकेरस्थित आइआईएस्सीको नयाँ क्याम्पसको समेत भ्रमण गरेको थियो । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: