वीरगञ्ज । देश सञ्चालन जस्तो गम्भीर र संवेदनशील जिम्मेवारी अनुभव, विवेक र इमानदारी बिना सम्भव नहुने भन्दै नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले सक्षम, जिम्मेवार र परिपक्व नेतृत्व चयन गर्न मतदातालाई आग्रह गरेका छन् ।
स्थानीय चुनावी भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले देश चलाउने कामलाई सामान्य खेल अभ्याससँग तुलना गर्न नमिल्ने बताए । “देश चलाउने जिम्मेवारी फुटबल खेल्ने अभ्यासजस्तो होइन। यो अत्यन्तै गम्भीर र उत्तरदायी काम हो, जहाँ अनुभव, बौद्धिक क्षमता र इमानदारी अनिवार्य हुन्छ,” उनले भने ।
उमेरलाई नेतृत्वको कमजोरीका रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै चौधरीले नेतृत्व क्षमतामा आधारित हुनुपर्ने स्पष्ट पारे । उनले भने, “शुशीला कार्की, नीतिश कुमार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूजस्ता ७०–८० वर्षका व्यक्तिहरूले आज पनि प्रभावकारी नेतृत्व दिइरहनुभएको छ । त्यसैले नेतृत्व उमेरले होइन, क्षमताले तय हुन्छ ।”
केवल ‘युवा’ भन्ने नाराले मात्र देश निर्माण सम्भव नहुने उल्लेख गर्दै उनले अनुभव, दृष्टिकोण र जिम्मेवारीबोध भएका प्रतिनिधि चयन गर्नुपर्ने आवश्यकता औंल्याए । “उत्साह मात्र पर्याप्त हुँदैन, राष्ट्र निर्माणका लागि नीति, स्पष्ट दृष्टिकोण र ठोस निर्णय क्षमता आवश्यक पर्छ,” उनले जोड दिए ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चौधरीले जनताको साथ, सहयोग र विश्वास प्राप्त भए समृद्ध पर्सा र सशक्त राष्ट्र निर्माणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विकास, सुशासन र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै जनउत्तरदायी राजनीतिमा आफू प्रतिबद्ध रहने समेत बताए । सौजन्य यात्रा डेली

