Loktantra Khabar National Weekly
Ad

सामाजिक भत्ता भ्रष्टाचारको आरोपमा मुद्दा दायर

लोकतन्त्र खबर
१६ माघ २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

आयोगले बाराको पचरौता नगरपालिका वडा– ६ का वडाध्यक्ष र साजुला मियाँ अन्सारीसमेतको मिलेमतोमा ज्येष्ठ नागरिक भत्तामा अनियमितता गरेको आरोप दायर मुद्दामा उल्लेख गरिएको छ । वडाध्यक्ष मकबुल अन्सारीसंगको मिलेमतोमा उमेर बढाएर केही स्थानीयहरुले ज्येष्ठ नागरिक भत्ता भत्ता बुझ्दै आएको उजुरी आयोगमा परेको थियो ।

आयोगले उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा वडा– ६ का प्रतिवादीहरु साजुला मिया अन्सारी, रबेया अन्सारी र उमत मिया अन्सारीले ज्येष्ठ नागरिक भत्ता लिन नागरिकताको वास्तविक जन्म मितिमा झुट्टा तथ्य विवरण वदनियतपूर्वक बुझाएको फेला परेको थियो । उनीहरुले सक्कल नागरिका नबुझाई फोटोकपी पेश गर्दै उमेर नपुगी भत्ता बुझेको अनुसन्धानबाट खुलेको छ ।

राज्यलाई हानी नोक्सानी पुयाउने नियतले जानी बुझी ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्न वडा कार्यालयमा निवेदन दिएको आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता सुरेश न्यौपानेले आरोपित व्यक्तिहरुलाई प्रतिवादी बनाएर आरोप पत्र दायर गरेको जनाएका छन् ।

आयोगकाअनुसार वडा अध्यक्ष मकबुल मिया अन्सारीले ४ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ । त्यसैले उनीविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा आरोप पत्र दायर गरिएको छ । यसका साथै सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना असुल उपरको माग दाबी लिइएको छ ।

त्यसैगरी आयोगले सोही वडामा कार्यरत तत्कालीन वडा सचिव संगिता घिमिरे बिरुद्ध रु. १ लाख ४० हजार र तत्कालीन वडा सचिव पिटर थारु बिरुद्ध रु. ८४ हजार बिगो असुल उपरको माग दाबीसहित आरोप पत्र दायर गरको छ । आयोगले तत्कालीन वडा सचिव राजाराम प्रसाद साह विरुद्ध २ दाख ५२ हजार रुपैयाँ र सोही वडाका साजुला मिया अन्सारी विरुद्ध १ लाख ४० हजार रुपैयाँ भष्टाचार गरेको ठहरसहित आरोप पत्र दायर गरको बताइएको छ ।

त्यस्तै रबेया अन्सारी विरुद्ध ८४ हजार रुपैयाँ र उमत मिया अन्सारीलाई २ लाख ५२ हजार रुपैयाँ मुख्य कसुरदार सरह सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी सहित आरोप पत्र दायर गरिएको छ । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: