मधेश प्रदेशमा सम्पर्कविहीन हुने व्यक्तिहरुको संख्या डर लाग्दो अवस्थामा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जनकपुरधाममा बुधबार मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत एक तथ्यांकले मधेश प्रदेशका जिल्लाहरूमा हराउने व्यक्तिहरुको संख्या बढिरहेको देखिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जनाएअनुसार अन्तिम ६ महिनामा मधेश प्रदेशमा २ हजार ५ सय ७२ जना सम्पर्कविहीन छन् । जसमध्ये पुस महिनामा मात्र १ हजार ४ सय ४८ जना सम्पर्कविहीन छन् । ती सम्पर्कविहीनहरुमध्ये ६ महिनामा १ हजार ५ सय १ जना फेला परेका छन् भने अन्य अझै सम्पर्कविहीन अवस्थामै रहेका छन् । प्रवक्ता थापाले जेन– जी आन्दोलनमा भएका क्षतिहरुको विवरणसमेत सार्वजनिक गरे । उनले मधेश प्रदेशमा जेन– जी आन्दोलनका क्रममा जम्मा ४ जनाको मृत्यु भएको थियो । सो आन्दोलनमा मधेश प्रदेशका कुल २३४ वटा सरकारी कार्यालयहरुमा क्षति भएको थियो ।
सरकारी कार्यालयहरुको कुल क्षति आँकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ मूल्य बराबरको रहेको बताइन्छ । उनले जेन– जी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीको सवारी साधनहरुमा पनि क्षति पुगेको बताए । कुल आँकलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको छ ।
प्रवक्ता थापाले जेन– जी आन्दोलनका क्रममा मधेश प्रदेशका विभिन्न कारागारहरुमा रहेका १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये विभिन्न स्थानबाट जम्मा ५ सय ७९ जना पक्राउ परेका छन् भने अन्य कैदीबन्दी अझै फरार अवस्थामा रहेका छन् । जेन– जी आन्दोलनकै क्रममा मधेश प्रदेशका बाल सुधार गृहरुबाट ६८ जना फरार भएका थिए । जसमध्ये २० जना पक्राउ परिसकेका छन् भने ४८ जना अझै फरार रहेको उनले बताए । सौजन्य जनकपुर टुडे

