काठमाडौँ । सुनको मूल्यमा लगातार उछाल देखिँदैछ। जनवरी २६ मा सुनको मूल्य पहिलो पटक ५ हजार डलर प्रति औन्सभन्दा माथि पुग्यो। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । तर, बुधबार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ ।
यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो । यसले परम्परागत रूपमा जुन सम्पत्तिमा लगानी गरिन्थ्यो, त्यो अझै पनि प्रचलनमा छ भन्ने प्रमाणित गरेको छ। सुनको ऐतिहासिक वृद्धि सन् २०२५ मै देखिएको थियो, जतिबेला सुनको भाउमा ६० प्रतिशतभन्दा बढीको उछाल आएको थियो। सन् १९७९ पछि यस वर्ष सुनमा सबैभन्दा धेरै वार्षिक वृद्धि देखिएको थियो। हाल सन् २०२६ को सुरुवात मात्र भएको छ, अहिले पहिलो महिना नै चलिरहेको छ र सुन १७ प्रतिशतभन्दा बढी बढिसकेको छ। शेयर बजारको अनिश्चितताका बिच लगानीकर्ताहरूले सुनमा लगानी बढाएका छन्। सुन र अन्य बहुमूल्य धातुहरूलाई सुरक्षित लगानी मानिन्छ। तर प्रश्न यो छ कि सुनमा कहिलेसम्म यो तेजी कायम रहला, यसको भाउ बढ्नुका पछाडि के कारणहरू छन् र के अहिले यसमा लगानी गर्नु सुरक्षित छ?
सुनको मूल्य वृद्धिका पछाडि ३ मुख्य कारण के हुन्?
सुनको मूल्य बढ्नुका पछाडि हुन त धेरै कारणहरू छन्, तर सबै एकअर्कासँग जोडिएका छन्। भू–राजनीतिक तनावका कारण विश्वमा अस्थिरता बढिरहेको छ, यस्तो समयमा लगानीकर्ताहरू जोखिम मोल्नुको साटो परम्परागत सम्पत्तिहरूमा लगानी गरिरहेका छन्। भू–राजनीतिक तनाव कै कारण डलरको प्रयोग पनि घटिरहेको छ र सुनमाथिको निर्भरता बढाइँदै छ। एसेट म्यानेजमेन्ट कम्पनी स्प्रोट इंकका अध्यक्ष रायन म्याकइन्टायरले भने, ‘भू–राजनीतिक विवाद र आर्थिक अनिश्चितताका कारण सुनको मूल्य बलियो बनेको छ। केन्द्रीय बैंकहरू लगातार सुन किनिरहेका छन् ताकि अमेरिकी डलरमाथिको निर्भरता कम गर्न सकियोस्।’
१. ट्रम्पका नीतिहरू र भू–राजनीतिक तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूका कारण सेयर बजारलाई धेरै झट्का लागेको छ। यसले गर्दा लगानीकर्ताहरू अब सुन–चाँदी जस्ता बहुमूल्य धातुहरूमा लगानी गरिरहेका छन्। हालै भू–राजनीतिक तनावका कारण सुनको मूल्य बढेको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ ग¥यो, त्यसपछि सुनको मूल्य बढ्यो। ट्रम्पले इरान सरकारलाई धम्की दिए, किनकि त्यहाँ प्रदर्शनकारीहरूमाथि हिंसात्मक कारबाही भइरहेको थियो। ट्रम्पले ग्रीनल्याण्डलाई आफ्नो अधिनमा ल्याउने कुरा पनि उठाए। उनले युरोपेली देशहरूमा ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिए। यद्यपि, पछि ट्रम्प पछि हटेका थिए। तर ह्वाइट हाउसको यस अनिश्चितताले बजार अझै पनि डराएको छ। शनिबार ट्रम्पले क्यानडालाई चेतावनी दिए, यदि क्यानडाले चीनसँग कुनै व्यापार सम्झौता गरेमा अमेरिकाले क्यानडाबाट आउने सामानमा १००% ट्यारिफ लगाउनेछ। यद्यपि, पछि क्यानडाले आफ्नो त्यस्तो कुनै उद्देश्य नभएको बताएको छ।
यी सबै घटनाहरूले लगानीकर्ताहरू डराएका छन्। जब विश्वमा युद्ध, हमला वा ठुलो राजनीतिक उल्झन हुन्छ, तब मानिसहरू आफ्नो पैसा सेयर बजार वा अन्य जोखिमपूर्ण चीजहरूबाट निकालेर सुन जस्ता सुरक्षित चीजहरूमा लगाउँछन्। यस अनिश्चितता र भू–राजनीतिक जोखिमका कारण लगानीकर्ताहरू सुनतर्फ मोडिए, जसले गर्दा यसको माग बढ्यो र मूल्य तीव्र गतिमा उकालो लाग्यो। त्यसैगरी सन् २०२५ मा पनि ट्रम्पले धेरै देशहरूमा ट्यारिफ लगाए, तब पनि लगानीकर्ताहरू ‘सेफ हेभन’ तर्फ दौडिए। मार्केटमा सेफ हेभन ती सम्पत्तिहरूलाई भनिन्छ जसले वित्तीय बजारमा गिरावट आउँदा पनि आफ्नो मूल्य कायम राख्छन्। खराब स्थितिमा पनि धेरै पटक यसको मूल्य बढ्छ। सुन र चाँदी बजारका सेफ हेभन हुन्।
२. केन्द्रीय बैंकहरूले सुन खरिद गरिरहेका छन्
सुनको मूल्यवृद्धिमा तीव्र वृद्धिका पछाडि केन्द्रीय बैंकहरूको भारी खरिद साँच्चै सबैभन्दा ठूला कारणहरूमध्ये एक हो। सन् २०२२ देखि लगातार यो ट्रेन्ड बलियो भएको छ, २०२५ मा यो अझ तीव्र भयो, जसले गर्दा सुनको मूल्य रेकर्ड स्तरमा पुग्यो। केन्द्रीय बैंकहरू (जस्तै चीन, पोल्याण्ड, टर्की, भारत, कजाकिस्तान आदि) ले सुनलाई रिजर्भ एसेट (आरक्षित सम्पत्ति) को रूपमा बढाइरहेका छन्। उनीहरूले यसो गर्नुको कारण अमेरिकी डलरको प्रभुत्व कम हुनु हो।
प्रतिबन्ध, ट्रेड वार र विश्वव्यापी अस्थिरताबाट बच्न सुनले बीमा जस्तै काम गर्छ। भू–राजनीतिक तनाव (रुस–युक्रेन, मध्य पूर्व, ट्रेड वार) का कारण पनि केन्द्रीय बैंकहरूले यसलाई तीव्र रूपमा किनिरहेका छन्। गोल्डम्यान स्याक्सका अनुसार, उदाउँदा देशहरूले हरेक महिना औसतन ६० टन सुन किनिरहेका छन्। पोल्याण्डको केन्द्रीय बैंकसँग २०२५ को अन्त्यमा ५५० टन सुन थियो, अब उनीहरूको लक्ष्य ७०० टन पु¥याउने छ, गभर्नर एडम ग्लापिन्स्कीले यसै महिना यो कुरा भनेका थिए। पोल्याण्ड पनि आफ्नो भण्डार ७०० टन सम्म बढाउने तयारी गरिरहेको छ। चीन त पहिलेदेखि नै लगातार १४ महिनादेखि सुन किनिरहेको छ। केन्द्रीय बैंकहरू ठुलो परिमाणमा सुन किन्छन् र यी ‘प्राइस–इन्सेन्सिटिभ’ हुन्छन् (अर्थात् महँगो मूल्यमा पनि किनिरहन्छन्)। यसले बजारमा आपूर्ति कम हुन्छ र मूल्य माथि जान्छ। जब सेन्ट्रल बैंकले किन्छन्, तब निजी लगानीकर्ता, ईटीएफ र खुद्रा व्यापारीहरूले पनि फलो गर्छन्। यसले माग अझ बढाउँछ।
जब अमेरिकी डलर कमजोर हुन्छ, तब सुनको मूल्य सामान्यतया बढ्छ। यसको कारण यो हो कि सुन डलरमै किनबेच गरिन्छ। डलर कमजोर हुँदा अन्य देशका मानिसहरूका लागि सुन सस्तो पर्छ, त्यसैले उनीहरू धेरै सुन किन्न थाल्छन्। यसले माग बढ्छ र मूल्य माथि जान्छ। कमजोर डलर प्रायः महँगी वा आर्थिक अनिश्चितताका कारण हुन्छ। यस्तो समयमा मानिसहरूले सुनलाई सेफ हेभन मानेर त्यसतर्फ झुकाव राख्छन्। ाथै, कमजोर डलरका साथ अमेरिकामा ब्याजदरहरू पनि कम रहन्छन्, जसले गर्दा सुन राख्दा कुनै नोक्सान हुँदैन। विश्लेषकहरूको विश्वास छ, डलरबाट स्पष्ट रूपमा दूरी बढेपछि नै सुनको मूल्यमा वृद्धि भएको हो। अमेरिका र जापानले मिलेर येन (जापानको मुद्रा) लाई सहारा दिनका लागि हस्तक्षेप गरे, जसले डलरको शक्ति घट्यो। डलर कमजोर हुनाले सुन विदेशी खरिदकर्ताहरूका लागि सस्तो हुन्छ (किनकि सुन डलरमै बिक्छ)। त्यसैले विश्वभरका मानिसहरू धेरै सुन किनिरहेका छन्।
विशेषज्ञहरूका अनुसार हाल सुनको मूल्यमा वृद्धि कायम रहनेछ। विभिन्न रिपोर्टहरूले २०२६ मा सुनको मूल्य मोटामोटी रूपमा माथि नै रहनेवाला छ, यद्यपि बिच–बिचमा यो केही कम हुन सक्ने बताउँछ। इन्डिया बुलियन एण्ड ज्वैलर्स एसोसिएसनका प्रवक्ता सीए सुरिन्दर मेहताले बीबीसी न्युज हिन्दीलाई भने, ‘सुनको मूल्यमा वृद्धिका सबै कारणहरूले अमेरिकाको अर्थतन्त्रलाई नराम्ररी प्रभावित गर्न सक्छन्। यस्तो भएमा ‘सेफ हेभन’ तर्फ दौडने मानिसहरूको संख्यामा वृद्धि हुनेछ, जसले गर्दा गोल्डको मूल्यमा फेरि एकपटक ठुलो उछाल देख्न सकिन्छ।’ लन्डन बुलियन मार्केट एसोसिएसनको ताजा सर्वेक्षणमा विश्लेषकहरूको २०२६ मा सुनको भाउ ७,१५० डलरसम्म पनि जान सक्ने मान्यता छ । जबकि दिग्गज इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले यो वर्षको अन्त्यसम्म सुनको मूल्य ५,४०० डलरसम्म पुग्ने अनुमान लगाएको छ।
स्वतन्त्र विश्लेषक रस नर्मनले औसत ५,३७५ डलरका साथ ६,४०० डलर प्रति औन्सको लक्ष्य दिएका छन्। उनको विश्वास छ कि हाल अनिश्चितताको दौर जारी रहनेछ। यसको सिधा प्रभाव सुनको मूल्यमा पर्नेवाला छ। जे.पी. मोर्गनका अनुसार, सुनको यो तीव्र मूल्यवृद्धस अहिले सकिएको छैन। यद्यपि बाटो सीधा हुनेछैन, अर्थात् मूल्य तल–माथि भइरहनेछ। तर लामो समयसम्म सुन महँगो हुने रुझान जारी रहनेछ। यसको कारण यो हो कि विश्वभर मानिसहरू र बैंकहरू डलरबाट हटेर सुनतर्फ गइरहेका छन्। यस अनुसार, २०२६ को अन्त्यसम्म सुनको मूल्य ५,००० डलर प्रति औन्सको आसपास पुग्नेछ। सन् २०२६ को अन्तिम त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा औषत मूल्य ५,०५५ डलर प्रति औन्स रहन सक्छ। जबकि २०२७ को अन्त्यसम्म यो अझ बढेर ५,४०० डलर प्रति औन्सको नजिक हुन सक्छ।
सुनको मूल्यमा उछाल आएपछि यसमा लगानी बढेको छ। यद्यपि आउने केही समयसम्म सुनको मूल्य धेरै नै रहे तापनि लगानीकर्ताहरूले सावधानी अपनाउनुपर्नेछ। इकोनोमिक टाइम्सको रिपोर्टले भन्छ, ठुलो परिमाणमा एकै पटक धेरै सुन नकिन्नुहोस्, विशेष गरी जब मूल्य धेरै उच्च छ। बिस्तारै सुनमा लगानी बढाउनु र आफ्नो कुल लगानीको सन्तुलनलाई कायम राख्नु राम्रो हुन्छ। बेलफास्ट युनिभर्सिटीका आर्थिक इतिहासकार डा. फिलिप फ्लायर्सले गत वर्ष भनेका थिए, ‘सुनको मूल्य निरन्तर बढिरहेको छ, यसमा दाउ लगाउनु जोखिमपूर्ण हुन सक्छ। जस्तै सरकारहरूले सोच–विचार गरेर निर्णय लिन्छन् र बजार स्थिर हुन्छन्, तब मानिसहरू फेरि गोल्डमा इन्भेस्ट गर्नबाट पछि हट्न थाल्नेछन्।’ उनले सुनमा लगानी गर्नु छ भने दीर्घकालीन हिसाबले गर्न राय दिए ।
गोल्डम्यान स्याक्ससँग आबद्ध डान स्ट्रुवेनले भने, ‘अमेरिकाको स्टक मार्केट सुनको बजारभन्दा लगभग २०० गुणा ठुलो छ।’ यसको अर्थ हो कि यदि स्टक मार्केट वा बन्ड मार्केटबाट थोरै मात्र पैसा बाहिर निस्केर सुनमा गयो भने, सुनको सानो बजारमा यो धेरै ठुलो वृद्धि देखिनेछ। रिपोर्टमा अगाडि भनिएको छ, ‘तर केही मानिसहरू चिन्ता गरिरहेका छन् कि सुनको मूल्य यति तीव्र गतिमा र यति धेरै बढेको छ कि अब बबल (फोका) बनिरहेको छ। बबल कहिलेकाहीँ फुट्न पनि सक्छ, अर्थात् मूल्य अचानक धेरै खस्न सक्छ। त्यसैले लगानीकर्ताहरू सावधान रहन आवश्यक छ।’ सौजन्य रातोपाटी

