वीरगञ्ज । रौतहटको नेपाल–भारत सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले नक्कली जस्तो देखिने भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्न लागेका दुई जनालाई रोकेको थियो । जाँचका क्रममा उनीहरूको साथबाट शंकास्पद भारतीय रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाका ४२ वर्षीय राकेश कुमार साह र ३० वर्षीय बिक्रम कुमार पासवान रहेका छन् । उनीहरूले प्रयोग गरेको ३२ ६८२३ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय रुपैयाँ २ हजार ५ सय बराबरका नक्कली जस्तो देखिने नोट फेला परेका छन् । बरामद नोटमध्ये ५ सय दरको १ थान र २ सय दरका १० थान रहेका छन् । सीमा सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टका अनुसार शंकास्पद नोटसँगै उनीहरूको साथबाट सक्कली भारतीय रुपैयाँ १ सय ७७, दुई थान एन्ड्रोइड मोबाइल फोन तथा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सौजन्य यात्रा डेली

