Loktantra Khabar National Weekly
Ad

घोषणापत्रविहीन चुनावी अभियान, पर्सामा एजेन्डा बिना मत माग्दै उम्मेदवार

लोकतन्त्र खबर
१५ माघ २०८२

वीरगञ्ज । पर्सा जिल्लामा हरेक निर्वाचनअघि राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, योजना र प्रतिबद्धता समेटिएको घोषणापत्र सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ । तर यसपालि भने पर्सा जिल्लाका कुनै पनि उम्मेदवारले हालसम्म औपचारिक रूपमा घोषणापत्र सार्वजनिक नगरेको देखिएको छ ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलहरू चुनावी अभियानमा सक्रिय देखिए पनि घोषणापत्र बिना नै मतदातासामु भोट मागिरहेको अवस्था देखिन्छ । घोषणापत्रमार्फत जनतासँग गरिने विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा स्पष्ट प्रतिबद्धता सार्वजनिक हुन नसक्दा मतदातामा अन्योल बढ्न थालेको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटक निर्वाचन प्रक्रियामा सहभागी उम्मेदवारहरूमा नेपाली कांग्रेसका अनिल कुमार रुंगटा, नेकपा एमालेका प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि पन्त, जनता समाजवादी पार्टी (जसपा)का रामनरेश यादव, उज्यालो नेपाल पार्टी (उनेपा)का पराग सिंह नेपाल, जनमत पार्टीका ओमप्रकाश सर्राफ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नन्दु श्रीवास्तव, नेकपा, नागरिक उन्मुक्ति पार्टी, श्रम संस्कृति लगायत विभिन्न दलका उम्मेदवारहरू रहेका छन् ।

दलहरूका अनुसार घोषणापत्र निर्माणका लागि टिम बनाएर गृहकार्य भने भइरहेको छ । विगतमा निर्वाचनको एक महिना देखि तीन हप्ता अगावै घोषणापत्र सार्वजनिक गर्ने प्रचलन भए पनि यसपटक भने सो प्रक्रिया ढिलाइ भएको देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार घोषणापत्र बिना चुनावी प्रतिस्पर्धा गर्नु लोकतान्त्रिक अभ्यासका दृष्टिले कमजोर पक्ष हो । घोषणापत्रले मतदातालाई उम्मेदवारको दृष्टिकोण, प्राथमिकता र कार्यदिशा बुझ्न सहयोग पु¥याउने भएकाले समयमै सार्वजनिक हुनुपर्ने उनीहरूको भनाइ छ ।

अब फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा दलहरूले घोषणापत्र सार्वजनिक गर्ने वा एजेन्डाविहीन चुनावी अभियानमै सीमित रहने भन्ने प्रश्नले पर्साको राजनीतिक माहोल थप चासोको विषय बनेको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: