Loktantra Khabar National Weekly
Ad

प्रतिनिधिसभा सदस्य निर्वाचनः मधेशका ३२ सिट मधेश केन्द्रित दलको आधार क्षेत्र जोखिममा, नयाँ अनुहारलाई चुनौती

लोकतन्त्र खबर
१५ माघ २०८२

मधेश केन्द्रित दललाई आफ् नो आधार क्षेत्र जोगाउन यसपटक हम्मेहम्मे पर्ने देखिन्छ । मधेश प्रदेशमा प्रतिनिधिसभाका कूल ३२ वटा निर्वाचन क्षेत्रका लागि १ हजार ५४ जनाको उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी १ सय ५४ जनाले धनुषामा उम्मेदवारी दिएका छन् भने सप्तरीमा सबैभन्दा कम १ सय ४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

देशको सबैभन्दा ठूलो जनसंख्या भएको मधेश प्रदेश मधेश केन्द्रित दलको प्रभाव क्षेत्र अर्थात आधार क्षेत्र हो । मधेश केन्द्रित दलको प्रभाव घटाउन र आफ्नो बर्चस्व बढाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) लगायतका ठूला दलले हरेक चुनावमा निकै मेहनत गर्ने भएकाले मधेशलाई चासोपूर्वक हेरिएको छ ।

 

मधेशबाट लामो समय राजनीति गरेको पार्टी छाडेर अन्य पार्टीबाट उम्मेदवार बन्ने ठूला नेतादेखि पूर्वमन्त्री, विभिन्न पार्टीका प्रमुख र भावी प्रधानमन्त्रीका दाबेदारसम्म चुनावी मैदानमा उत्रिएका छन् । मधेशका चर्चित नेता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी–३ बाट उम्मेदवारी दिएका छन् ।

२०७९ को चुनावमा सप्तरी– २ बाट हारेका अध्यक्ष यादव उपनिर्वाचनमार्फत बारा–२ बाट निर्वाचित भइ सांसद् बने । उनलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष सीके राउत भने यसपटक पनि सप्तरी–२ बाटै प्रतिस्पर्धामा छन् । राउतले नै आफ्नो जोडबलमा पार्टीबाट मधेश प्रदेशमा मुख्यमन्त्री बनाएका सतीश कुमार सिंह जनमत छाडेर स्वाभिमान पार्टीबाट राउतसंगै भिडेका छन् ।

उनी सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् । राउतसंगै सप्तर ी–२ (१) बाट प्रदेश सभा सदस्यमा निवार्चित भएका उनी राजीनामा गरेर उम्मेदवार बनेका छन् ।

यसअघि सिरहा–२ बाट निर्वाचित भएका जसपा नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव आफ्नो पुरानै क्षेत्र सिरहा–४ मा फर्किएका छन् । जेन– जी आन्दोलनपछि बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ता राजीनामा दिएर रास्वपाबाट सिरहा–१ मा उम्मेदवारी दिएका छन् । एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा–४ बाट चुनाव लडेका छन् भने धनुषा–३ बाट उनकी पत्नी जुलीकुमारी महतो उम्मेदवार छिन् ।

धनुषा–३ बाटै कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका पूर्वमन्त्री विमलेन्द्र निधि पनि चुनावी प्रतिस्पर्धामा छन् । नेकपाका नेता पूर्वमन्त्री मातृकाप्रसाद यादव धनुषा–१ बाटै उम्मेदवारी दिएका छन् । २०७९ मा उनी यस क्षेत्रबाट जसपा नेपालका दीपक कार्कीसंग पराजित भएका थिए । जसपा नेता एवं पूर्वमन्त्री शरतसिंह भण्डरी महोत्तरी– २ र नेकपाका गिरिराजमणि पोखरेल क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाबाट महेन्द्र राय यादव पुरानै क्षेत्र सर्लाही २ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपाका शीर्ष नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै सर्लाही–४ बाट कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवार रुपमा घोषणा गरेका पार्टी सभापति गगन कुमार थापा चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै रास्वपाबाट पूर्वकांग्रेसीसमेत रहेका अमरेश नारायण सिंह चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै रौतहट–१ मा नेकपाबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह उम्मेदवार छन् । त्यस्तै रौतहट–४ मा आजपाबाट ऋषि धमला उम्मेदवार छन् ।

कांग्रेसबाट यहाँ दुई पटक निर्वाचित देवप्रसाद तिमिल्सिनाले यसपटक पनि उम्मेदवारी दिएका छन् । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा–३ बाट उम्मेदवार छन् भने जसपाबाट पर्सा–१ मा चुनाव जित्दै आएका प्रदीप कुमार यादव चुनावको पूर्वसन्ध्यामा एमालेबाट उम्मेदवार बनेका छन् । पर्सा–२ मा कांग्रेसले पूर्वमन्त्री अजय चौरसियालाई नै दोहो¥याएका छन् ।

मधेशमा मनोनयन दर्तापछि निर्वाचन लक्षित गर्दै चुनावी चहलपहल तीव्र रुपमा बढ्दै गएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटलाई गति दिएका छन् भने सडकदेखि सामाजिक सञ्जालसम्म चुनावी प्रचारप्रसार बढेको छ । मधेशमा पनि भ्रष्टाचार, कुशासन, गुटबन्दी र जनअपेक्षा पूरा गर्न नसकेकोजस्ता आरोप राजनीतिक दलहरुमाथि लाग्ने गरेको छ ।

मधेशमा राजनीतिक चेतना भएका ठूलो संख्यामा रहेका मतदाता संघीयता, स्वशासन, समावेशीता, पहिचान र अधिकारका मुद्दामा संवेदनशील रहदै आएका छन् । तर नयाँ भनिएका दलहरु पनि पुरानै दलहरुको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: