वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले सङ्कटका बेला जनताको साथमा उभिन सक्ने नेतृत्व छान्ने समय आएको बताएका छन् । चुनावी प्रचार–प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रममा बोल्दै यादवले विगतमा वीरगञ्जमा चरम सुख्खा परेका बेला नगरवासीहरू खानेपानीको गम्भीर अभावमा परिरहेका समयमा आफूले केन्द्र सरकारसँग समन्वय गरी बजेटको व्यवस्था गर्दै धारा, बोरिङ, ट्युबवेल तथा रिजर्भ ट्याङ्कीमार्फत सहज रूपमा पानी वितरण गराएको स्मरण गराए ।
यादवले सङ्कटको घडीमा काम गर्ने र भाषणमा सीमित रहने नेतृत्वबिचको भिन्नता जनताले प्रत्यक्ष अनुभूति गरिसकेको बताए । पूर्व खानेपानी मन्त्री समेत रहेका यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालयको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा व्यवहारमै प्रमाणित गरेको दाबी गरे । बाँकी रहेका विकास निर्माणका कार्यहरू पूरा गर्न पुनः एक पटक अवसर दिन उनले मतदातासँग आग्रह गरे । “जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै नेकपा एमालेसँग छ,” उनले जोड दिए ।
यादवले सुख्खा ग्रस्त क्षेत्रका कारण उत्पन्न समस्याहरू समाधान गर्न कुनै कसर बाँकी नराखी काम गरेको उल्लेख गर्दै कोरोना महामारीका बेला वीरगञ्ज तथा आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि खेलेको भूमिकासमेत स्मरण गराए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक क्षेत्रका सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने बताए । कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि सङ्कटका बेला साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको धारणा राख्दै एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । सौजन्य यात्रा डेली

