Loktantra Khabar National Weekly
Ad

पूर्वराजा शाहको जनकपुरधाम भ्रमण : महन्त दासद्वारा ०४७ सालपछिको सम्पूर्ण संविधान फ्याल्नुपर्ने माग !

लोकतन्त्र खबर
१४ माघ २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता–कार्यकर्ता तथा समर्थकसहितकाले जानकी मन्दिरमा भव्य स्वागत गरेका छन् । धार्मिक यात्रामा आए पनि उनलाई राप्रपाले राजनीतिक आवरण दिँदै पूजाअर्चना एवं हिन्दू राजतन्त्रात्मक व्यवस्थाका लागि नारावाजी समेत गरेका छन् । सो क्रममा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवसंग पूर्वराजा शाहबीच भलाकुसारी भएको छ ।

जनकपुरधाममा सोमबार जानकी मन्दिर दर्शन पश्चात पूर्वराजा शाहलाई महन्त दासले ०४७ सालको संविधान व्युताउनुपर्ने औल्याएका छन् । महन्त दासले ०४७ सालको संविधान व्युताएर त्यसपछि जारी भएको सम्पूर्ण संविधान हटाउनुपर्ने भन्दै पूर्वराजा शाहसंग याचना गरेका थिए । त्यसक्रममा पूर्वराजा शाहले उनको अभिव्यक्ति सुनेर टाउको हलाएर समर्थन जनाए ।

महन्त दासले पूर्वराजा शाहलाई मन्दिरमा रहेको शीश महलमा दोसल्ला ओढाएर सम्मान गर्दै ०४७ सालकै संविधान व्युताउनका लागि योजना बुन्न पनि आग्रह गरे । केही वर्ष अघि जनकपुरधामस्थित तिरहुतिया गाछीमा भएको राजावादीको सभामा पनि ०४७ सालको संविधान व्युताउनका लागि आह्वान गरेका थिए ।

राजतन्त्रात्मक व्यवस्था व्युताउनका लागि सक्रियतापूर्वक सहभागिता जनाउन पूर्वराजा शाहलाई आह्वान गरेका थिए । त्यसको लामो समयपछि जानकी मन्दिरमा भएको भेटघाटको क्रममा पनि महन्त दासले राजतन्त्रको वकालत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध कडा अभिव्यक्ति दिए । राजतन्त्रात्मक व्यवस्थाको माग आफ्नो तर्फबाट सबै साधुसन्तको माग राखेको प्रस्ट्याए । उनले साधुसन्त समाजले विगत लामो समयदेखि हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै आए पनि अहिलेसम्म पूरा हुन नसकेको जिकिर उनले गरे ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएपछि हरेक दलका नेताको अघिपछि गर्ने महन्त दासले पूर्वराजा शाहसंग राजा फर्किनुपर्ने वकालत गर्ने गरेका छन् । धार्मिक स्थल जानकी मन्दिरमा राजनीतिक आवरणमा कुनै पनि किसिमको दलीय कार्यक्रम गर्न नपाउने कानुनी व्यवस्था जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । तर जिल्ला प्रशासन कार्यालय धनुषाले मन्दिर परिसरभित्र कार्यक्रम तथा नारावाजी गर्न समेत निषेध गरे पनि प्रहरी प्रशासनकै सक्रियतामा जिल्ला प्रशासन कार्यालयले बनाएको कानुनी आदेशको ठाडो उल्लंघन भएको छ ।

त्यस्तै पूर्व राजा शाहको नाममा विभिन्न चोकमा बनाइएको स्वागत गेटमा पनि ‘श्री ५ को सरकार’भनेर मुलुकमा राजा रहेको र राजतन्त्रात्मक व्यवस्था रहे सरी नै स्थानीय प्रशासन र प्रहरीले उनको उच्च सुरक्षासहित आमनागरिकलाई सास्ती भोग्न बाध्य पारिएको थियो । जानकी मन्दिरमा आम श्रद्धालु भक्तजनहरुलाई बेवस्ता गर्दै प्रहरी प्रशासनले पूर्वराजा शाहलाई भिभिआइपीको नाममा राजा जस्तै व्यवहार गरी कानुन र आफ्नो पदीय गरिमाको समेत उपहास गरेको टिप्पणी स्थानीयवासीहरुले गर्न थालेका छन् ।

उनी जानकी मन्दिरबाट राम मन्दिर जाने क्रममा सो बाटो नै सर्वसाधारणको लागि स्थानीय प्रहरीले निषेध गरेको थियो । जानकी मन्दिरमा शाहले विधिपूर्वक पूजा– अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको बताए । पूर्वराजा शाहले जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरलगायतका मन्दिरमा पनि दर्शन गरेका थिए ।विगत केही वर्षदेखि विवाहपञ्चमी महोत्सवमा परम्परागत विधिविधानलाई छाडेर मुख्यमन्त्रीदेखि विभिन्न शीर्षनेतालाई बोलाएर धार्मिक अनुष्ठानलाई राजनीतिक आवरणमा प्रस्तुत गर्दा तीव्र आलोचनासमेत महन्त दासले खेप्दै आएका छन् ।

आफ्नो यात्रा विशुद्ध धार्मिक : शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन् । पूजाअर्चना सम्पन्न गरेपछि पूर्व राजा ज्ञानेन्द्र शाहले आफू पारिवारिक धार्मिक यात्रा भएको प्रस्ट्याएका छन् । जनकपुरधाममा सोमबार जानकी मन्दिर पुगेका पूर्वराजा परिवारलाई समर्थकहरूले स्वागत गरेका थिए । जानकी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाह पैदल यात्रा गर्दै राम मन्दिर पनि पुगेका थिए । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरूले भव्य रुपमा स्वगात गरेका थिए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: