मुम्बई । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘किङ’ को रिलिज मिति र टिजर सार्वजनिक भएको छ । मल्टिस्टारर यो फिल्म सन् २०२६ को डिसेम्बर २४ मा सिनेमा हलमा रिलिज हुने भएको हो । निर्माण पक्षले रिलिज मितिसँगै फिल्मको दमदार टिजर पनि बाहिर ल्याएको छ ।
शाहरुख खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत टिजर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘किङ २४.१२.२०२६ मा सिनेमा हलमा गर्जिनका लागि तयार छ ।’ ४५ सेकेन्ड लामो टिजरमा शाहरुखको फस्ट लुक निकै आक्रामक देखिएको छ ।
टिजरको सुरुवात हिउँले ढाकिएको चट्टानमा उभिएर शाहरुख चिच्याइरहेको दृश्यबाट हुन्छ । लगत्तै सिसाको छत फोडेर गरिएको उनको ‘इन्ट्री’ र रगतले लतपतिएको अनुहारसहित ‘डर होइन, म दहशत हुँ’ भन्ने संवादले टिजरलाई निकै प्रभावशाली बनाएको छ ।
टिजरमा फिल्मको भव्यता र शाहरुखको नयाँ बोल्ड अवतार देख्न सकिन्छ । रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शाहरुख खानका अलावा सुहाना खान, रानी मुखर्जी र दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्ममा अभिषेक बच्चन भिलेनको भूमिकामा देखिनेछन् ।
यसअघि नोभेम्बर २ मा शाहरुखको जन्मदिन पारेर सार्वजनिक गरिएको टाइटल भिडियोले नै सामाजिक सञ्जाल तताएको थियो । सौजन्य यात्रा डेली

