वीरगञ्ज । इरानमा बढ्दो महँगीविरुद्ध सुरु भएको विरोध प्रदर्शन अली खामेनीको इस्लामिक सत्तालाई चुनौती दिने स्तरमा पुगेपछि भएको दमनमा सुरक्षा बलले ३६ हजार ५ सय भन्दा बढी नागरिकको हत्या गरेको दाबी गरिएको छ । विपक्षी सञ्चारमाध्यम इरान इन्टरनेशनलले जनवरी ८ र ९ मा देशव्यापी रूपमा भएको दमनलाई इरानी इतिहासकै सबैभन्दा घातक दुई दिने नरसंहारको संज्ञा दिएको छ ।
इरान इन्टरनेशनलको सम्पादकीय बोर्डले वर्गीकृत कागजातहरू, फिल्ड रिपोर्टहरू, चिकित्सा कर्मचारीहरूका बयान, प्रत्यक्षदर्शीहरू तथा पीडित परिवारहरूबाट प्राप्त विवरणहरूको समीक्षा गरेपछि उक्त सङ्ख्या पुष्टि गरेको जनाएको छ ।
बोर्डका अनुसार, हत्याको ढाँचा र अपराधको मात्राले घटनालाई नागरिकहरू विरुद्धको सबैभन्दा ठुलो र रक्तपातपूर्ण नरसंहारको रूपमा स्थापित गरेको छ । यसअघि जनवरी १३ मा इरान इन्टरनेशनलले कम्तीमा १२ हजारको मृत्यु भएको रिपोर्ट गरेको भएता पनि इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को गुप्तचर सङ्गठनले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई पेस गरेको तथ्याङ्कमा मृतकहरूको सङ्ख्या बढेर ३६ हजार ५ सय नाघेको दाबी छ । अन्य स्रोतहरूले भने २७ हजार ५ सय देखि ३३ हजार सम्म मारिएको उल्लेख गरेका छन् ।
दमन ४ सय भन्दा बढी सहरका ४ हजार भन्दा बढी झडप स्थलहरूमा भएको बताइएको छ । आईआरजीसी र बासिज मिलिसियाका साथै इराक तथा सिरियाबाट ल्याइएका प्रोक्सी सेनाहरू पनि दमनमा संलग्न भएको आरोप छ ।
इरान इन्टरनेशनलका अनुसार, तेहरानलगायत विभिन्न सहरहरूमा धेरै बन्दीहरूलाई गैर न्यायिक मृत्युदण्ड दिइएको प्रमाण प्राप्त भएको छ । शव गृहका तस्बिरहरूले अस्पतालमा उपचाररत घाइतेहरूलाई टाउकोमा गोली हानेर मारिएको देखाउँछन् ।
नयाँ विवरणहरूले सरकारको दमन राज्य स्तरमै योजनाबद्ध र सङ्गठित रूपमा गरिएको सङ्केत गर्छन् । सर्वोच्च नेता अली खामेनीले जनवरी ९ मा दिएको सम्बोधनपछि आईआरजीसीका उच्च कमान्डरहरूबिच ‘आतङ्कमार्फत विजय’ र ‘फितना अन्त्य नहुन्जेल लड’ जस्ता अभिव्यक्तिहरू प्रयोग गरिएका थिए ।
तेहरानका चिकित्सक र नर्सहरूका बयानअनुसार, सुरक्षा बल अस्पतालभित्रै प्रवेश गरी घाइतेहरूलाई नियन्त्रणमा लिने र गोली हानेर हत्या गर्ने कार्य भएको छ । केही घटनामा एम्बुलेन्सभित्रै अर्धचेत घाइतेलाई गोली हानेर मारिएको प्रत्यक्ष विवरण आएका छन् ।
यसबाहेक, सुरक्षाबलले घर–घरमा गएर मानिस पक्राउ गर्ने, सामान डेलिभरीको बहानामा ढोका खोल्न लगाई गोली हानेर हत्या गर्ने तथा परिवारलाई शव लिन शवगृहमा बोलाउने गरेको पीडित परिवारहरूले बताएका छन् । मृतकका परिवारलाई शव बुझाउनुअघि ठुलो रकम (‘गोली शुल्क’) तिर्न बाध्य पारिएको र कतिपयलाई बसीज मिलिसियाको सदस्य भनेर अभिलेखमा देखाइएको रिपोर्ट छ । यो कार्यले मृत्युको वास्तविकता लुकाउने प्रयास भएको मानवअधिकारकर्मीहरूको आरोप छ ।
पक्राउ परेकाहरूको सङ्ख्या सार्वजनिक नगर्नु, थुनाका स्थान अज्ञात राख्नु तथा बन्दीहरूको स्वास्थ्य र कानुनी पहुँच नदिनुले स्थिति थप गम्भीर बनेको छ । इरानभित्रका एक वरिष्ठ कानुन व्यवसायीले यसलाई ‘अन्तर्राष्ट्रिय मानवअधिकार सङ्कट’ को संज्ञा दिएका छन् । मानवअधिकार विज्ञहरूका अनुसार, घटनाहरू स्वतन्त्र छानबिनबाट पुष्टि भएमा इरानमा गैर न्यायिक हत्या मात्र नभई मानवताविरुद्धको अपराधको रूपमा अन्तर्राष्ट्रिय कारबाहीको दायरामा पर्न सक्छ ।
यद्यपि, इरान सरकारले हत्याका दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ । सरकारले विरोध प्रदर्शनका पछाडि अमेरिका र इजरायलको हात रहेको आरोप लगाएको छ । लामो समयदेखि इन्टरनेट बन्द भएका कारण वास्तविक जानकारी बाहिर आउन कठिन भएको छ । मृत्युको दाबी मुख्य रूपमा इरान इन्टरनेशनल जस्ता विपक्षी र पश्चिमा सञ्चारमाध्यमबाट आएको हो । सौजन्य यात्रा डेली

