Loktantra Khabar National Weekly
Ad

चर्चामा महोत्तरी–३ : संघीयता र अधिकार सबै उम्मेदवारका मुद्दा

लोकतन्त्र खबर
११ माघ २०८२

जनकपुरधाम । महोत्तरीमा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै चासोको केन्द्र बनेको छ, क्षेत्र नम्बर ३ । यहाँ ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसको कारण प्रतिस्पर्धा रोचक र जटिल दुवै हुनेछ । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन लोसपा अध्यक्ष महन्त ठाकुर विजयी भएका थिए । यसपटक भने उनकी छोरी मिनाक्षी झा जसपा नेपालबाट उम्मेदवार बनेकी छन् । महोत्तरी–३ मा यसपटक मुख्य दल, नयाँ राजनीतिक शक्ति, क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारको बाक्लो उपस्थिति छ । नेपाली कांग्रेसबाट बजरंग नेपाली उम्मेदवार छन्, उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । अधिकारको नाममा पटक–पटक ठगिने अवस्था अब अन्त्य गर्ने र संसद् पुगेपछि मधेसीको हक–अधिकारको आवाज बलियो रूपमा उठाउने उनको भनाइ छ । आफूले वर्षौंदेखि आम नागरिकको बिचमा काम गर्दै आएको उल्लेख गर्दै पार्टीले आफ्नो योगदानको मूल्यांकन गरेर टिकट दिएको बताएका छन् । विगतमा महन्थलाई सहयोग गरेको स्मरण गराउँदै अब जनताको सेवामा अझ जिम्मेवारीका साथ लाग्ने बताएका छन् । नेकपा एमालेबाट मनोज सिंह यहाँ उम्मेदवार छन्, उनले जनताको समस्या पर्दा सधैं अगाडि रहने प्रतिबद्धता जनाएका छन् । जलेश्वर नगरपालिका–९ का वडाध्यक्ष हुँदा सीमित बजेटमै पनि राम्रो काम गरेको दाबी गर्दै जनताले आफूलाई फेरि विश्वास गर्ने उनले अपेक्षा व्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट राजकिशोर साह उम्मेदवार बनेका छन् ।

उनले अब जनतालाई झुटो आश्वासन दिएर ठग्ने राजनीति बन्द हुनुपर्ने बताए । गरिब, निमुखा, दलित, मुस्लिम र पहुँच नपुगेका समुदायका लागि संसद्मा आवाज उठाउने र कृषि, स्वास्थ्यलगायत सबै क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । जसपा नेपालबाट यहाँ उम्मेदवार बनेकी ठाकुरले भने मधेसी जनताको अधिकारलाई पूर्णता दिलाउने, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन् । अधिकारको नाममा मधेसी जनतालाई पटक–पटक ठग्ने प्रवृत्ति अन्त्य गर्ने र जितेपछि मधेसको हक–अधिकारका लागि संसद्मा मजबुत आवाज उठाउने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने यहाँ उज्ज्वल झा उम्मेदवार बनेका छन् । उनले संघीयताको नाममा अन्य दलहरूले जनतालाई धोका दिएको आरोप लगाउँदै संघीयतालाई सही रूपमा परिभाषित गर्ने बताए । संघीयताबाट प्राप्त अधिकारलाई जनताको हितमा प्रयोग गर्ने र सबै क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । जनमत पार्टीबाट यहाँ अरबिन्द ठाकुर उम्मेदवार बनेका छन् । उनले मधेस प्रदेशमा आफ्नो पार्टीले जनताको विश्वास जितिसकेको दाबी गर्दै अब मधेसी समुदायसम्म नपुगेका अधिकार पुयाउन संघीयताको बलियो कार्यान्वयन गर्ने बताए ।

‘धेरै बोल्ने होइन, धेरै काम गर्ने पार्टीका रूपमा जनमतलाई स्थापित गर्नु छ,’ उनले भनेका छन् । नेपाल संघीय समाजवादी पार्टीबाट रिजवान अन्सारी यहाँ उम्मेदवार बनेका छन् । उनले सत्ताको खेलले जनतालाई ठग्ने काम धेरै भइसकेको भन्दै अब जनता सचेत भइसकेको बताए । सही व्यक्तिलाई मत दिने वातावरण बनेको दाबी गर्दै पार्टी जनताको बिचमै रहने प्रतिबद्धता जनाएका छन् । यसपटक क्षेत्र नम्बर ३ मा पार्टीभित्रको असन्तुष्टि पनि खुलेर देखिएको छ । एमालेबाट टिकट नपाएपछि रामआधार कापरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले माटो, जनता र जनताको पीडा बुझेकाले आफू विजयी हुने दाबी गरेका छन् । विगतमा बाँकी रहेका काम पूरा गरेको र अब वञ्चित समुदायलाई अधिकार दिलाउने प्रतिबद्धता उनले जनाएका छन् । जसपा नेपालबाट टिकट नपाएपछि पूर्वमन्त्री हरिनारायण यादव पनि यहाँ स्वतन्त्र उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा दुई हजार मतले पराजित भएको उल्लेख गर्दै यसपटक जनताले आफूलाई मूल्याङ्कन गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

मन्त्री हुँदा र नहुँदा पनि जनताको बिचमै रहेको भन्दै जनतालाई भगवान् र आफूलाई सेवकको रूपमा प्रस्तुत गरेका छन् । यसपटक महोत्तरी–३ मा मतदाताको प्राथमिकता परिवर्तन हुँदै गएको देखिन्छ । भाषणभन्दा काम, आश्वासनभन्दा परिणाम खोज्ने प्रवृत्ति बढ्दो छ । विकास, रोजगारी, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य मुख्य मुद्दा बनेका छन् । ४२ जना उम्मेदवार रहेको यस क्षेत्रमा मत विभाजनको सम्भावना उच्च छ । सानो मतान्तरले पनि नतिजा उल्टिन सक्ने अवस्था बनेको छ । मनोनयन प्रक्रिया सम्पन्न भएसँगै यहाँ प्रचारप्रसार तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो, आमसभा र सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने तयारीमा जुटेका छन् ।

अघिल्लो पटक महन्थ ठाकुर विजयी भएको यो क्षेत्रमा यसपटक नतिजा कसको पक्षमा जाने हो भन्ने निर्णय भने मतपेटिकाबाट मात्रै स्पष्ट हुनेछ । सौजन्य रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: