Loktantra Khabar National Weekly
Ad

अमेरिकाविरुद्ध डेनिस जनताले छेडे ‘अनलाइन युद्ध’

लोकतन्त्र खबर
११ माघ २०८२

डेनमार्कका नागरिकहरूले अमेरिकाविरुद्ध एक अनौठो अनलाइन युद्ध सुरु गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वामित्वमा रहेको ग्रीनल्यान्डमाथि कब्जा जमाउने धम्की दिएपछि युरोपभरि नै अमेरिकाप्रति आक्रोश फैलिएको छ । यसमा अझ डेनिस जनताको आक्रोश उच्च बिन्दुमा पुगेको छ ।

ट्रम्पको विरोधस्वरूप डेनमार्कका जनताले अमेरिकी सामानविरुद्ध अनलाइन अभियान थालेका छन् । उनीहरूले अमेरिकी उत्पादनको बहिष्कार सुरु गरेका छन् । अमेरिकी सामान पहिचान गर्न उनीहरूले यस्ता एपको प्रयोग गरिरहेका छन्, जसले कुनै वस्तु कहाँ बनेको हो र त्यसलाई उत्पादन गर्ने कम्पनी कुन देशको हो भन्ने कुरा सजिलै जानकारी गराइदिन्छ ।

अचानक बढ्यो ‘एन्टी–अमेरिका’ एपको डाउनलोड

डेनमार्कमा स्मार्टफोनहरूमा एकाएक यस्ता मोबाइल एपहरूको बाढी आएको छ, जसले उपभोक्तालाई कुन सामान अमेरिकामा बनेको हो र त्यसका स्थानीय विकल्प के–के हुन सक्छन् भन्ने कुरा पहिचान गर्न मद्दत गर्छन् । यो बहिष्कार अभियान डेनमार्कमा मात्र सीमित नरही ग्रीनल्यान्ड, नर्वे, स्विडेन र आइसल्यान्डजस्ता देशहरूमा पनि तीव्र गतिमा फैलिँदै गएको छ । यसका कारण युरोपमा अमेरिकी सामानको बिक्री घट्ने र डेनमार्कका उत्पादकहरूको बिक्री बढ्ने आँकलन गरिएको छ ।

बारकोड स्क्यान गरेर अमेरिकी सामान पहिचान

यो अमेरिकाविरोधी अनलाइन संघर्षमा डेनिसहरूले ‘ननयूएसए’ र मेड ओ’मिटर जस्ता एपहरू आफ्नो फोनमा भटाभट डाउनलोड गरिरहेका छन् । ‘ननयूएसए’ एप यो साताको बुधबार डेनमार्कको एप स्टोरमा पहिलो स्थानमा पुगेको छ, जबकि केही दिनअगाडि मात्र यो ४०० औँ स्थानभन्दा पनि तल थियो ।

यस एपबाट प्रयोगकर्ताले कुनै पनि सामानको बारकोड स्क्यान गरेर तुरुन्तै त्यो उत्पादन अमेरिकी हो कि होइन भन्ने जानकारी पाउन सक्छन् । यदि सामान अमेरिकी भएको पुष्टि भयो भने यो एपले त्यसको सट्टामा डेनमार्कमा बनेका स्थानीय विकल्पहरूको सूची तुरुन्तै देखाइदिन्छ ।

तथ्यांकअनुसार, पछिल्लो एक हप्तामा यस्ता एपहरूको डाउनलोडमा ८६७ प्रतिशतको भारी वृद्धि भएको छ । यसले मानिसहरू आफ्नो विरोधलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ ।

नेटफ्लिक्स र बिदा मनाउन अमेरिका जाने योजना समेत रद्द

युरोपेली उपभोक्ताहरूको यो आक्रोश केवल पसलसम्म मात्र सीमित छैन । डेनमार्कका नागरिकहरूले अब नेटफ्लिक्सजस्ता अमेरिकी स्ट्रिमिङ सेवाहरूको सदस्यता पनि रद्द गर्न थालेका छन् । यति मात्र होइन धेरै मानिसहरूले त अमेरिकामा बिदा मनाउने योजना तथा होटल बुकिङसमेत रद्द गरेका छन् । यो आन्दोलनले अहिले अभियानको रूप लिँदै गएको छ। जहाँ मानिसहरूले अमेरिकी अर्थतन्त्रलाई असर पारेर आफ्नो असन्तुष्टि व्यक्त गर्न चाहिरहेका छन् ।

युरोपका स्मार्टफोन प्रयोगकर्ताबीच पछिल्लो समयमा ‘च्भवकभपयचत’ जस्ता यात्रा सम्बन्धी एप र अन्य स्थानीय सेवाहरू पनि लोकप्रिय बनिरहेका छन् । यसको कारण मानिसहरूले अब अमेरिकाको सट्टा आफ्नै देश तथा छिमेकी क्षेत्रमा यात्रा गर्न प्राथमिकता दिन थालेका छन् ।

यद्यपि डेनमार्कको स्मार्टफोन एप बजार अमेरिका वा चीनको तुलनामा सानो छ तर हाल देखिएको ट्रेन्डले धेरै कुरा संकेत गरिरहेको छ । डेनमार्कमा कुनै एप टप टेनमा पुग्नका लागि केही हजार डाउनलोड नै पर्याप्त हुने गर्छ । तर ‘ननयूएसए’ जस्ता एपहरू अत्यन्तै छिटो समयमा शीर्षस्थानमा उक्लिनुलाई त्यहाँको सामाजिक वातावरणमा आएको ठूलो परिवर्तनको संकेत मानिएको छ ।

हुनत डेनमार्कमा अहिले पनि सबैभन्दा लोकप्रिय एपहरूको सूचीमा शपिङ, च्याटजिपिटी र माइक्रोसफ्टजस्ता केही अमेरिकी एपहरू अझै कायम छन् । तर अमेरिका बहिष्कारसँग सम्बन्धित एपहरूको बढ्दो लोकप्रियता र सङ्ख्याले प्रविधि जगतमा नयाँ तरंग उत्पन्न गराएको छ । त्यसैले राजनीतिक तनाव मथ्थर नहुन्जेलसम्म डेनिस बजार र स्मार्टफोनहरूमा अमेरिकी कम्पनीहरूको अवस्था असहज नै हुने देखिन्छ । सौजन्य यात्रा डेली

 

 

प्रतिक्रिया दिनुहोस्: