सर्लाही, ९ माघ । ‘कुरै नगर्नुस्,यी सब बदमास हुन्,’ रूद्रबहादुर खड्काले दिक्दारी पोखे, ‘भोट पनि नहाली बसौंजस्तै भएको छ ।’ खड्का सर्लाही क्षेत्र नम्बर ३ को हरिवन नगरपालिका धरहरा बजारका बासिन्दा हुन् । ७७ वर्षका खड्काले आफ्नो निर्वाचन क्षेत्रमा खालखालका उम्मेदवार व्यहोरेका छन् । सबै पार्टीका नेताहरूलाई पालैपालो मतदान पनि गरेका छन् । पुरानाहरूबाट अपेक्षित काम नभएको महसुस गरेका खड्का यसपटक नयाँ दल र नयाँ उम्मेदवारबारे विचार गर्नुपर्ने धारणा राख्छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही–३ बाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए । त्यो प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न नसके पनि उप्रेती भने त्यस्ता भाग्यमानी सांसद हुन् जो दुई कार्यकाल मन्त्री हुन पाए । सुरूमा २०७९ साल माघ ३ गतेदेखि फागुन १६ गतेसम्म रक्षामन्त्री भएका उनी दोस्रो कार्यकालमा २०८० फागुन २३ देखि ०८१ असार २० गतेसम्म रक्षामन्त्री बनेका थिए । तर आफूहरूले जिताएर पठाएका उप्रेती मन्त्री बनिसकेपछि भने फर्किएर पनि नआएको गुनासो यहाँका नागरिकको छ । यिनै उप्रेतीले यसपाली पनि सर्लाही क्षेत्र नम्बर ३ मा टिकट पाएका छन् ।
यसपाली भोट माग्न गाउँ आएमा अघिल्लो चुनावमा गरेका बाचामध्ये कति काम भए त्यसको हिसाब माग्ने र त्यसपछि बल्ल भोट हाल्ने कि नहाल्ने भनेर भनेर निर्णय गर्ने यहाँका नागरिकको कुरा छ । ‘सबै पार्टी पालैपालो सरकारमा थिए,’ बागमती नगरपालिका वडा नम्बर ११ का एक व्यापारीले भने, ‘पहिले पुराना दलका नेताहरू सरकारमा हुँदा हाम्रो लागि के काम गरे भनेर सोध्छौं । उनीहरूको कुरा चित्त नबुझे नयाँ पार्टी छँदैछन् ।’ यद्यपि उप्रेतीले भने आफू सधैंभरी मतदाताहरूकै बीचमा रहेको बताए । ‘म महिनाको पाँचचोटी निर्वाचन क्षेत्रमा आउने मान्छे हुँ,’ उप्रेतीले अनलाइनखबरसँग भने, ‘संसदमा मलाई तपाईं त उतै मेयर बनाएर राख्न पर्ने मान्छे रहेछ भन्थे ।’ सर्लाही–३ कांग्रेस, एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने क्षेत्र हो । २०६४ साल यताको निर्वाचनमा कहिले एमाले र कहिले माओवादीकै पल्लाभारी हुँदै आएको छ । तर जनताको समस्या भने पटक्कै समाधान हुन नसकेको बरहथ वा नगरपालिका १० हनुमानचोक डोम बस्तीका कमल धनकरले बताए । ‘तीन पुस्तादेखि बसिरहेका छौं । चुनावमा नेताहरू आउँछन् । विभिन्न आश्वासन दिन्छन् । नालाको समस्या छ,’ धनकरले भने, ‘नेता आउँछन् जितेर गएपछि काम हुँदैन । विगतमा नारा जुलुसमा पनि जान्थ्यौं । तर पनि केही काम गरिदिएनन् । आश्वासन दिन्छन् काम गर्दैनन् ।’ यसपाली एमालेका उप्रेतीसहित नेपाली कम्युनिष्ट पार्टीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्र साह कलवार, नेपाली कांग्रेसका विनोद खनालसहितका नेताहरू प्रतिस्पर्धामा छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ बाट नेकपा एमालेका हरि उप्रेती ७७० मत अन्तरले माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई पराजित गरेका थिए । उप्रेती ३२ हजार ९३८ मतसहित निर्वाचित भएका थिए । तत्कालीन पाँचदलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कलवार ३२ हजार १६८ मत ल्याएका थिए । तेस्रोमा जनमत पार्टीकमा उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५१९ मत पाएका थिए भने रास्वपाका उम्मेदवार ३ हजार ५६६ मत ल्याएर चौथो भएका थिए । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादवले जितेका थिए । उनले ७ हजार ४३८ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार हरेशकुमार महतोलाई पराजित गरेका थिए । रायले २२ हजार ३ सय ६७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी महतोले १४ हजार ९ सय २९ मतमा सीमित भए । तेस्रोमा स्वतन्त्र उम्मेदवार गुलाब छाप चुनाव चिह्नका नरेन्द्र साहले १२ हजार ८६ मत पाएका थिए । यस क्षेत्रमा २०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेका उप्रेती जितेका थिए । यसपटक रास्वपाबाट उम्मेदबार बनेका साह २०७० मा महेन्द्र यादव नेतृत्वको तराई मधेश लोकतान्त्रिक (तमसपा)बाट समानुपातिक सांसद बनेका थिए ।
२०७४ को प्रतिनिधिसभा सदस्यमा गुलाब छाप चुनाव चिह्नबाट लडेर पराजित नरेन्द्र २०७९ मा नेकपा माओवादी केन्द्रबाट पाँच दलीय गठबन्धनका उम्मेदबार बनेर उप्रेतीसँग कडा प्रतिस्पर्धा गरेका थिए । अहिले सर्लाही क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धीहरूसँगै नेपाली कम्युनिष्ट पार्टी नेकपाका नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्दैछ्न् । यस क्षेत्रमा जसपा नेपालबाट जयप्रकाश राय, जनमतबाट सुनिल प्रसाद गुप्ता लगायत ३४ उम्मेदवार छन् । संगठनात्मक आधार खोज्दै सर्लाहीमा नारायणकाजी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले सर्लाहीमा सबभन्दा बढी ४७ हजार ३२९ समानुपातिक मत पाएको थियो । त्यसमा पनि सर्लाही क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी १५ हजार ४७१ मत समानुपातिकमा थियो । यस क्षेत्रमा तत्कालीन नेकपा एकीकृत समाजवादीको संगठन अन्य क्षेत्रमा भन्दा राम्रो छ । अहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि नेपाली कम्युनिष्ट पार्टीले सर्लाही–३ लाई निर्वाचन जित्नका लागि अनुकुल देखेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै रूकुमपूर्व पुगेजस्तै नेता नारायणकाजी श्रेष्ठ पनि सुरक्षित क्षेत्र खोज्दै सर्लाही–३ मा आइपुगेका हुन् ।
यसअघि उनी संविधानसभा निर्वाचनमा मकवानपुर र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए । त्यसैले पनि श्रेष्ठले यसपटकको निर्वाचनलाई प्रतिष्ठासँग जोडेका छन् । उनी यहाँ आउनुको अर्को कारण मिटरव्याज पिडितको समस्या समाधानका लागि खेलेको भूमिका पनि हो । श्रेष्ठ गृहमन्त्री हुँदा सर्लाहीसहित मधेशका जिल्लामा देखिएको मिटरब्याजको समस्या समाधानमा भूमिका खेलेका थिए । ‘उहाँले सडकमा हुँदा पनि सरकारमा हुँदा पनि सर्लाहीको पक्षमा नै काम गर्नुभएको हो,’ नेकपा नेता प्रल्हाद बुढाथोकीले भने, ‘हामीले नै उहाँलाई आग्रह गरेर सर्लाही–३ मा ल्याएका हौं ।’ बुढाथोकीले सर्लाही पूर्व माओवादीको संगठनात्मक आधार बलियो भएको क्षेत्र भएकाले श्रेष्ठलाई आफूहरूले आग्रह गरेर ल्याएको बताए । नेकपा नेता प्रल्हाद बुढाथोकी यद्यपि अघिल्लो निर्वाचमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नरेन्द्र साह अहिले माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धा गर्दैछन् । दल फेर्दै, उम्मेदवार बन्दै नरेन्द्र साह
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार उठेका नरेन्द्र साह कलवार २०७० यता चारपटक चुनाव उठेका छन् । तर उनी चारैपटक फरक–फरक पार्टी र छापबाट चुनाव लड्दै आएका छन् । पहिलोपटक उनी २०७० को दोस्रो संविधानसभामा महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक उम्मेदवार बने । त्यसबाट उनी सांसद बने । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कलवार स्वतन्त्र उम्मेदवार बनेर गुलाव छापबाट चुनाव लडे । त्यस बेला माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादव २२ हजार ३ सय ६७ मत ल्याएर निर्वाचित हुँदा कलवार तेस्रो नम्बरमा १२ हजार ८६ मत पाएका थिए । तेस्रो पटक २०७९ को निर्वाचनमा उनी पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बने । गठबन्धनका उम्मेदबार बनेर उप्रेतीसँग कडा प्रतिस्पर्धा गरे । तर जित एमाले उम्मेदवार हरि उप्रेतीसँग ७७० मत अन्तरले पराजित हुन पुगे । उप्रेती ३२ हजार ९३८ मतसहित निर्वाचित हुँदा कलवार ३२ हजार १६८ मतमा सीमित भए । रहथवा गाउँ बरहथवा नगरपालिका ११ घर भएका कलवार प्रतिष्ठित व्यवसायी समेत छन् । उनले समाजमा पनि योगदान गर्ने गरेको सुनिन्छ । उनी यसपटक पनि नेपाली कम्युनिष्ट पार्टीबाट चुनाव लड्न चाहन्थे । तर नेकपाले नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनायो । आफ्नो नाम भूगोल तर्फबाट समेत पार्टीले सिफारिस नगरेको र चुनाव नलड्दा विगतमा प्रतिस्पर्धा गर्दा ल्याएको मत र मतदाताको अपमान हुने भएकाले रास्वपाबाट चुनाव लडेको उनको भनाइ छ । ‘विगतमा आएको ३२ हजार मतको कारण म नेकपाबाटै पुनः चुनाव लड्न चाहन्थें । मेरो अधिकार थियो । तर मेरो भूगोलबाट समेत सिफारिस गरिदिएन,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसकारण मलाई स्वतन्त्रबाट भएपनि चुनाव लड्नु पर्ने मतदाताको दबाब थियो । पछि स्वतन्त्रभन्दा रास्वपाबाटै चुनाव लड्न सरसल्लाह भयो ।’ उनका भनाइमा आफू चुनाव नलडेको भए आफूसँग जोडिएका मतदाता साथ छाडिदिन्थे । ‘मत र मतदाताको सम्मान गरेर सल्लाहमै रास्वपाबाट चुनाव लडेको हुँ,’ उनको तर्क छ । सौजन्य अनलाइनखबर

