मोडल तथा अभिनेत्री गरिमा शर्माले प्रेमी सार्वजनिक गरेकी छन् । गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको जानकारी दिएकी उनले अहिले सामाजिक सञ्जालमार्फत प्रेमी चिनाएकी हुन् । उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौँ । अब भने हामी केही वास्तविक बनाउँदैछौँ । विद्यालयदेखिको प्रेम ।’ उनले प्रेमीको नाम भने उल्लेख गरेकी छैनन् । उनले प्रेमीको नाम नलिए पनि ती युवकको नाम अञ्जन पौडेल भएको उनलाई प्राप्त कमेन्टबाट थाहा पाउन सकिन्छ । धेरैले दुवैलाई बधाई दिइरहेका छन् । चितवन स्थायी घर भएका उनीहरू दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा सँगै अध्ययन गरेका थिए । अञ्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी हुन् । म्युजिक भिडियोबाट अभिनय थालेकी गरिमा पछिल्लो समय फिल्ममा पनि क्रियाशील छिन् । अञ्जन अहिले अध्ययन तथा रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहँदै आएका बुझिएको छ । सौजन्य यात्रा डेली

