मुम्बई । बलिउडका चर्चित संगीतकार एआर रहमान यतिबेला आफ्नो एक विवादास्पद बयानका कारण चर्चामा छन् । साम्प्रदायिक कारणले विगत ८ वर्षदेखि बलिउडमा काम नपाएको भन्ने उनको दाबीपछि सुरु भएको विवादका बिच निर्देशक रामगोपाल वर्माको एउटा पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा रहमानलाई ओस्कर दिलाउने प्रसिद्ध गीत ‘जय हो’ रहमानले नभई सुखविंदर सिंहले कम्पोज गरेको दाबी गरिएको थियो । यस विषयमा विवाद बढ्दै गएपछि रामगोपाल वर्माले सामाजिक सञ्जाल एक्समार्फत स्पष्टीकरण दिएका छन्। उनले आफ्नो कुरालाई गलत अर्थ लगाइएको बताउँदै रहमानको बचाउ गरेका छन् ।
वर्माले लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि जय हो गीतका बारेमा मेरो भनाइलाई गलत बुझियो। मेरा लागि एआर रहमान सबैभन्दा उत्कृष्ट संगीतकार र निकै राम्रो मान्छे हुन् । उनले कहिल्यै कसैको श्रेय लिँदैनन् । मलाई आशा छ, यस स्पष्टीकरणले सबै भ्रम र नकारात्मकता अन्त्य गर्नेछ ।’ भाइरल भिडियोमा वर्माले दाबी गरेका थिए कि सुभाष घईको फिल्म ‘युवराज’ का लागि रहमानले संगीत तयार पार्न ढिलाइ गरेपछि घईले सुखविंदरबाट गीत बनाउन लगाएका थिए । त्यतिबेला रिजेक्ट गरिएको सोही गीत पछि ‘स्लमडग मिलेनियर’ मा प्रयोग भएको र त्यसैले ओस्कर जितेको दाबी गरिएको थियो । यसअघि गायक सुखविंदर सिंहले पनि यो दाबीलाई खण्डन गरिसकेका छन्। सन् २०२४ मा दिएको एक अन्तर्वार्तामा सुखविंदरले ‘जय हो’ गीत आफूले कम्पोज नगरेको प्रस्ट पारेका थिए। उनले भनेका थिए, ‘मैले यो गीतमा केवल स्वर दिएको हुँ, यसको वास्तविक संगीतकार एआर रहमान नै हुन् ।’
रहमानले पछिल्लो समय बलिउडमा आफूमाथि भेदभाव भएको भन्दै दिएको अभिव्यक्तिले उद्योगलाई दुई भागमा बाँडिदिएको छ । केहीले उनको समर्थन गरेका छन् भने केहीले उनको आलोचना गरिरहेका छन् । सौजन्य यात्रा डेली

