Loktantra Khabar National Weekly
Ad

प्रतिनिधिसभा सदस्य निर्वाचनः दुई चर्चित क्षेत्र : बालेन–ओली र गगन–अमरेशको रोचक चुनावी प्रतिस्पर्धा !

लोकतन्त्र खबर
९ माघ २०८२

प्रतिनिधिसभा सदस्यको निर्वाचनको १६५ वटै चुनाव क्षेत्रमा दल तथा स्वतन्त्र उम्मेदवारहरू मैदानमा उत्रिसकेका छन् । चुनावी उम्मेदवारी दर्ता गरिएपछि देशका दुई क्षेत्रका उम्मेदवारको अहिले निकै चर्चामा छ । चारपटकका प्रधानमन्त्री बनिसकेका नेकपा एमालेका केपी शर्मा ओली र काठमाण्डु महानगरपालिकाका पूर्वमेयरसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ निकै चर्चामा रहेको छ ।

दोस्रो संविधानसभाबाट क्रमशः तीनवटा चुनाव जितेका पूर्वप्रधानमन्त्री ओलीको क्षेत्र हो झापा क्षेत्र नम्बर ५ । अहिले उनीसंग काठमाण्डुका पूर्वमेयर बालेन भिड्ने भएपछि सो क्षेत्र निकै चर्चामा आएको छ । लौरो चुनाव चिह्न लिएर ६१ हजार ७ सय ६७ मत ल्याएर बालेन निर्वाचित भएका थिए । २० हजारभन्दा धेरै मतान्तरले निर्वाचित उनी अहिले लौरो छोडेर घण्टी बोकेर हिँडेका छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा उभ्याएपछि पनि सबैको नजर सो क्षेत्रमा परेको छ । जसले गर्दा सो क्षेत्रको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएको छ । काठमाण्डुका पूर्वमेयर तथा प्रधानमन्त्री बन्ने पहिलो मूल मधेशीको रूपमा उनलाई मैदानमा उतारिएको रास्वपाले जनाएको छ । यता सो क्षेत्रबाट ओली पनि चुनावमा होमिएका छन् । अघिल्लो निर्वाचनमा ५२ हजार ३ सय १९ मत ल्याएर निर्वाचित भएका थिए । ओलीको निकटतम प्रतिस्पर्धीभन्दा झण्डै ३० हजार मतान्तर थियो । अहिले आफ्नो पूर्वचुनावी विजयमा अत्यन्तै धेरै मतान्तरले निर्वाचित भएका ओली र बालेन दुवैको जनमतको परीक्षण झापा– ५ ले गर्ने भएको छ । मधेशको जिल्ला सर्लाहीमा निर्वाचन लड्न पहिलोपटक नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले काठमाण्डु क्षेत्र नम्बर ४ मा २०७० बाट लगातार तीनपटक निर्वाचन जित्दै आएका छन् । यसपटक सभापति थापा भने मधेश ओर्लिएका छन् । उनको पूर्वकांग्रेसी अमरेशकुमार सिंहसंग निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसको चुनावी गढ मानिने क्षेत्र हो सर्लाही– ४ । २०७९ सालको प्रतिनिधिसभाको चुनावमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर अमरेशकुमार सिंहले जितेका थिए । सिंह स्वतन्त्र उम्मेदवारको रुपमा २० हजार १७ मत ल्याएका थिए । सिंहले कांग्रेसका उम्मेदवार थापा भन्दा १ हजार ७ सय बढी मतान्तरले निर्वाचित भएका थिए । सभापति थापाले पनि राम्रो मतान्तरले जित्दै आएका उम्मेदवार छन् । २०७९ सालको प्रतिनिधिसभाको चुनावमा थापाले २१ हजार ३ सय २ मत ल्याएका थिए । त्यो उनका निकटतम प्रतिस्पर्धीभन्दा ७ हजार ४ सय ४७ बढी मत हो । बागी उठेरसमेत निर्वाचित भएका सिंहसंग अहिले रास्वपाको लहरको पनि साथ छ भने भावी प्रधानमन्त्रीको रूपमा चित्रित गरिएका सभापति थापालाई मत दिनेहरू पहिलेभन्दा अहिले उत्साहित छन् । यी दुबै जनामा सर्लाहीका मतदाताले यसपटक कुन उम्मेदवारलाई मत दिएर निर्वाचित गराउँछन् भन्ने चर्चाको विषय बनेको छ । कांग्रेसका सभापति थापा उम्मेदवार बनेको सर्लाही– ४ मा एमालेले अन्तिम समयमा आफ्नो उम्मेदवार नै परिवर्तन गरेको छ । एमालेले आफ्नै पार्टीका पुराना कार्यकर्ता रविशंकर कुशवाहालाई सर्लाही– ४ मा उम्मेदवार बनाएको छ । कुशबाहा निर्वाचन अधिकृतको कार्यालयसमेत पुगिसकेका थिए । तर अन्तिम समयमा एमालेका अध्यक्ष ओलीले कुशवाहाको ठाउँमा अमनिश कुमार यादवलाई उम्मेदवार बनाइएको पत्र पठाए । अमनिश सोमबार मात्रै नेकपा परित्याग गरी एमाले प्रवेश गरेका शिवपुजन रायका छोरा हुन् । रायले आफ्ना छोरालाई सर्लाही– ४ को टिकट दिन नेकपाका संयोजक प्रचण्डलाई दबाब दिए पनि प्रचण्डले सो क्षेत्रमा रायका छोरालाई टिकट नदिइ रगनिश राय यादवलाई टिकट दिएका छन् । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: