सरकारी साक्षीले नै प्रतिकूल बयान दिएपछि विशेष अदालतमा उनीमाथि नै नयाँ भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । विशेष अदालतमा विचाराधीन गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेश भएका व्यक्तिविरुद्धै भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालत काठमाण्डुमा दर्ता भएको मुद्दा नं. ०८१–सीआर–०११६ अन्तर्गत नेपाल सरकार वादी र रामबाबु महतो कोइरी प्रतिवादी रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेका जीवराज पोखरेलले अदालतमा आयोगमा दिएको बयान विपरीत बकपत्र दिएको पुष्टि भएपछि उनीविरुद्ध अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धानका क्रममा जिल्ला महोत्तरीको बर्दिवास नगरपालिका–६ का जीवराज पोखरेलले आफ्नो श्रीमती सावित्री पोखरेलको नाममा रहेको जिल्ला धनुषाको हरिहरपुर वडा नम्बर १ स्थित कित्ता नं. २६१५ र १६०१ को जग्गा मिति २०७२ माघ ११ मा प्रतिवादी रामबाबु महतो कोइरीकी श्रीमती माला कुमारी महतोको नाममा रजिष्ट्रेशन पास गराएको देखिएको छ । उक्त रजिष्ट्रेशन लिखतमा थैली अंक २५ लाख रुपैयाँ मात्र उल्लेख गरिए पनि वास्तविक कारोबार मूल्य ५२ लाख २३ हजार रुपैयाँ रहेको प्रमाणबाट खुलेको छ । अनुसन्धानमा उक्त जग्गा बिक्रीवापतको सम्पूर्ण रकम ५२ लाख २३ हजार रुपैयाँ जीवराज पोखरेलले आफ्नै बैंक खातामा प्राप्त गरेको बैंक स्टेटमेन्टबाट पुष्टि भएको आयोगले जनाएको छ । सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम पूर्ण छुट दिई तत्कालीन अवस्थामा प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो । तर मिति २०८२÷०८÷१५ गते विशेष अदालत, काठमाण्डुमा बकपत्र गर्दा उनले आयोगमा दिएको बयानविपरीत तथ्य प्रस्तुत गरी प्रतिकूल बकपत्र दिएको पुष्टि भएपछि पुनः कानुनी कारबाही अघि बढाइएको छ ।
आयोगका अनुसार बैंक खातामा देखिएको रकमबाट रजिष्ट्रेशनमा देखाइएको थैली अंक घटाउँदा बाँकी २७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार लुकाइछिपाइ आपसी मिलेमतोमा मुख्य प्रतिवादी राम बाबु महतो कोइरीलाई गैरकानूनी सम्पत्ति आर्जन गर्न सहयोग पु¥याएको देखिएको छ । यसरी मतियारका रूपमा भूमिका निर्वाह गरेको पुष्टि भएपछि जीवराज पोखरेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसूर ठहर गरिएको छ । आयोगले प्रतिवादी जीवराज पोखरेलविरुद्ध बिगो २७ लाख २३ हजार रुपैयाँ कायम गरी सोही ऐन अनुसार कैद र जरिवानाको सजाय मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरेको जनाएको छ । सौजन्य जनकपुर टुडे

