मलंगवा, ०८ माघ – सर्लाहीमा फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी संकलन गरेको थियो । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाको चारवटा क्षेत्रबाट उम्मेदवारी दिएका १३३ जनामध्ये कोही विरुद्ध पनि उजुरी नपरेको उज्यालो अभियानसँग बताएका छन् । यसैबिच देशका अन्य भागमा उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आज बेलुकी ५ बजेसम्म निर्णय गरिने आयोगले जनाएको छ । आयोगको कार्यसूचीअनुसार आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ । उजुरी पर्नेहरूमा रौतहटबाट उम्मेदवारी दिनुभएका नेकपाका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, रास्वपाबाट भक्तपुर–२ का उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाट उम्मेदवारी दिएका नेपाल जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक र रास्वपाबाट सुनसरी–२ का उम्मेदवार लालविक्रम थापा रहेका छन् ।
यस्तै निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि उजुरीका आधारमा मात्र नभई आफ्नै अनुसन्धानका आधारमा पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ । उजुरी नपरे पनि आयोगले स्वअध्ययनमार्फत आचारसंहिताविपरीत कार्य गर्नेहरूमाथि कारबाही गर्ने उनले बताए । सौजन्य उज्यालो अभियान

