मुम्बई । भारतीय गायिका नेहा कक्कडको एउटा रहस्यमयी सामाजिक सञ्जाल पोस्टले निम्त्याएको डिभोर्सको चर्चा अन्ततः साम्य भएको छ । केही दिनअघि ‘सबै सम्बन्धहरूबाट ब्रेक लिँदैछु’ भनी पोस्ट गरेपछि उनी र पति रोहनप्रित सिंहबीच सम्बन्धविच्छेद हुन लागेको भन्दै सञ्चारमाध्यम र फ्यानमाझ सनसनी फैलिएको थियो। तर, नेहाले स्पष्टीकरण दिँदै आफू डिभोर्सको प्रक्रियामा नरहेको र परिवारलाई यस विवादमा नतान्न आग्रह गरेकी छिन् । नेहाले अर्को पोस्ट शेयर गर्दै लेखेकी छिन्, ‘कृपया मेरा निर्दोष पति र प्यारो परिवारलाई यो सबमा नघिसार्नुहोस्। उहाँहरू सफा मनका हुनुहुन्छ र म आज जे छु, उहाँहरूकै साथका कारण छु ।’ उनले आफू परिवारसँग नभई अन्य केही व्यक्ति र कार्यप्रणाली (सिस्टम) सँग दुखी रहेको खुलाएकी छिन् ।
सामाजिक सञ्जालमा भावुक भएर पोस्ट गर्दा मानिसहरूले ठुलो मसला बनाउने रहेछन् भन्ने पाठ ढिलो गरी सिकेको उनले स्वीकार गरेकी छिन् । गायिकाले अबदेखि आफ्नो व्यक्तिगत जीवनका बारेमा सार्वजनिक रूपमा कुरा नगर्ने निर्णय गरेकी छिन्। ‘बेचारी इमोशनल नेहू यो दुनियाँका लागि अलि बढी नै भावुक छिन्,’ उनले थपेकी छिन्, ‘चिन्ता नगर्नुहोस्, म छिट्टै धमाकेदार रूपमा फर्किनेछु ।’
यसअघि उनले आफूलाई कतै पनि तस्बिर नखिच्न र गोपनियताको सम्मान गर्न भन्दै मिडिया र फ्यानसँग आग्रह गरेकी थिइन् । पछिल्लो समय नेहा र टोनी कक्कडको नयाँ गीत ‘क्यान्डी शप’ लाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । के–पपको नक्कल गरेको र नृत्यका स्टेपहरू अश्लील भएको भन्दै उनीहरू ट्रोलको निशानामा परेका थिए । सम्भवतः यही मानसिक तनावका कारण उनले विश्रामको घोषणा गरेको अनुमान गरिएको छ । चार वर्षको उमेरदेखि भजन गाएर सङ्घर्ष सुरु गरेकी नेहा बलिउडकी सर्वाधिक सफल र महँगी गायिकामध्ये एक हुन् । सौजन्य यात्रा डेली

