वीरगञ्ज । स्पेनको दक्षिणी एन्डालुसिया क्षेत्रमा आइतबार साँझ दुई उच्चगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् । घाइतेमध्ये ३० जनाभन्दा बढीको अवस्था गम्भीर रहेको स्पेनी अधिकारीहरूले जनाएका छन् । रेल नेटवर्क सञ्चालक एडीआईएफका अनुसार, निजी कम्पनी इर्योद्वारा सञ्चालित मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेल स्थानीय समयअनुसार साँझ ६ः४० बजे प्रस्थान गरेको करिब १० मिनेटपछि कोर्डोबा शहर नजिकैको आदामुज नगरमा लिकबाट बाहिरिएको थियो । लिक छाडेर विपरीत दिशाको ट्र्याकमा पुगेको उक्त रेल म्याड्रिडबाट हुएल्भातर्फ जाँदै गरेको रेन्फे कम्पनीको रेलसँग ठोक्किएको थियो । ठोक्किने क्रममा दुवै रेल लिकबाट बाहिरिएका थिए ।
इर्यो रेलमा करिब ३०० यात्रु सवार थिए भने रेन्फे रेलमा करिब १००–२०० यात्रु रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशङ्का गरिएको छ । स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले दुर्घटनालाई ‘अत्यन्तै अचम्मलाग्दो’ भनेका छन् । उनले भने, “यो सीधा ट्र्याकमा भएको हो, जुन गत वर्ष मे महिनामा मात्र मर्मतसम्भार गरिएको थियो ।” दुर्घटनाको कारण अझै खुल्न सकेको छैन र अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनालाई ‘गहिरो पीडाको रात’ भनेका छन् । स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश पठाएका छन् ।
दुर्घटनापछि म्याड्रिड र एन्डालुसियाबीचका सबै उच्चगतिको रेल सेवा निलम्बित गरिएका छन् । प्रभावित यात्रु र पीडितका आफन्तका लागि विभिन्न स्टेशनहरूमा सहायता केन्द्रहरू खोलिएका छन् । स्पेनमा सन् २०१३ मा उत्तर–पश्चिमी गालिसिया क्षेत्रमा भएको उच्चगतिको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो । घटनालाई देशको आधुनिक इतिहासकै सबैभन्दा ठुलो रेल दुर्घटना मानिन्छ । सौजन्य यात्रा डेली

