Loktantra Khabar National Weekly
Ad

पत्रकारले देश चलाउन सक्दैनन् भन्ने मान्यता तोडिएको छ : सञ्चारमन्त्री खरेल

लोकतन्त्र खबर
४ माघ २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारले राज्य सञ्चालन गर्न सक्दैनन् भन्ने परम्परागत भाष्य अब गलत साबित भएको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ एसोशिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन मन्त्री खरेलले मिडियाकर्मीसँग देशका यावत विषयको ज्ञान हुने भन्दै आवश्यक पर्दा पत्रकारले देश र मन्त्रालय कुशलतापूर्वक चलाउन सक्ने दाबी गरे ।
आफ्नो २५ बर्से पत्रकारिता जीवनबाट अप्रत्याशित रूपमा मन्त्रीको जिम्मेवारीमा आएको स्मरण गर्दै उनले भने, ‘एउटा पत्रकारलाई समाचार लेख्न र बोल्न मात्र आउँदैन । उसले शिक्षा, स्वास्थ्य, अर्थ, परराष्ट्रदेखि कृषिसम्म सबै बुझेको हुन्छ। पत्रकारले नबुझेको के छ ? त्यसैले आवश्यक पर्दा पत्रकारले देश चलाउन सक्छ ।’

‘पत्रकारिताको शिर निहुरिने काम गरेको छैन’
मन्त्री खरेलले सरकारमा रहेको चार महिनाको अवधिमा पत्रकारिता पेसा र पत्रकारको शिर निहुरिने कुनै पनि काम नगरेको जिकिर गरे । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने मन्त्री खरेलले प्रतिबद्धता व्यक्त गरे । यो सरकार ‘जेन्जी आन्दोलन र सहिदहरूको रगतको जगमा बनेको नागरिक सरकार भएको भन्दै उनले निर्वाचनमा कुनै पनि प्रकारको हस्तक्षेप नहुने स्पष्ट पारे । उनले भने, ‘हामी निर्वाचन आयोगलाई सहयोग गर्न र निर्वाचन निष्पक्ष बनाउन दृढ छौँ । विगतका अप्ठ्याराहरू पन्छाउँदै सरकार र प्रधानमन्त्रीज्यूले दृढतापूर्वक काम गर्नुभएको छ ।’

सुशासनको सन्दर्भमा सरकार निर्मम भएर प्रस्तुत भएको मन्त्री खरेलले बताए। पछिल्लो चार महिनामा ४० भन्दा बढी ठुला भ्रष्टाचारका फाइलहरू अघि बढेको र यसमा सरकारले अख्तियार लगायतका निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिएको उनले जानकारी दिए । बानेश्वरको सडकमा बगेको रगत र जेन्जी आन्दोलनको मर्मलाई नबिर्सन आग्रह गर्दै मन्त्री खरेलले आगामी संसद् र सरकारमा पनि मिडिया क्षेत्रको बलियो उपस्थिति हुनुपर्ने धारणा राखे । उनले पत्रकारहरूलाई विवेकशील भएर सही नेतृत्व चयन गर्न र जनतालाई सुसूचित गराउन आह्वान समेत गरे । सौजन्य रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: