मलंगवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले सोमबार जारी गरेको सूचना अनुसार सर्लाही जिल्लाभित्र रहेका सबै इजाजत प्राप्त हातहतियार धनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नो हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ ।
निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले बताए । उनले बुझाइएका हातहतियार निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरिने जानकारी पनि दिए ।
सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुनअनुसार हातहतियार जफत गरी आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ । सौजन्य धड्कन एफ.एम.

