Loktantra Khabar National Weekly
Ad

प्रेस स्वतन्त्रता हननमा मधेश प्रदेश दोश्रो

लोकतन्त्र खबर
२९ पुष २०८२

सन् २०२५ प्रेस स्वतन्त्रता हननको घटनामा मधेश प्रदेश दोश्रो स्थानमा परेको छ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा देशभर प्रेस स्वतन्त्रता हननका १२१ वटा घटनामा मधेश प्रदेश २७ वटा रहेको छ ।

सबभन्दा बागमती प्रदेशमा मात्र ६२ घटना अभिलेख भएका छन् भने मधेश प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा ८, कोशी प्रदेशमा ७, लुम्बिनी र गण्डकी प्रदेशमा समान ६÷६ तथा कर्णाली प्रदेशमा ५ घटना भएको छ । मधेश प्रदेशमा धम्की, दुव्र्यवहार र आक्रमणका घटना उल्लेख्य देखिएको छ ।

मधेश प्रदेशमा मात्र धम्की तथा दुव्र्यवहारका १५ र आक्रमण/कुटपिटका ११ घटना भएका छन् । सबैभन्दा बढी धम्की तथा दुव्र्यवहारका ५० घटना अभिलेख भएका छन्, जुन कुल घटनाको ठूलो हिस्सा हो । प्रतिवेदनमा उल्लेख भएअनुसार आक्रमण, कुटपिट तथा आगजनीसम्बन्धी ३७ घटना भएका छन् ।

यसले समाचार सङ्कलन र प्रकाशनको क्रममा पत्रकारहरू प्रत्यक्ष भौतिक जोखिममा रहेको देखाउँछ । यस्तै, पेसागत असुरक्षाका १५, कब्जा तथा अवरोधका ९, पकाउ तथा पकाउ प्रयासका ५ घटना भएका छन् । काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा तयार पारिएको प्रतिवेदन अनुसार पत्रकार र सञ्चारमाध्यमहरू विभिन्न किसिमका धम्की, दुव्र्यवहार, आक्रमणदेखि पेसागत असुरक्षासम्मका घटनाको सिकार बनेका छन् ।

यस अवधिमा दुई जना पत्रकारको शङ्कास्पद मृत्यु भएको विवरण पनि काउन्सिलले सार्वजनिक गरेको छ । यस्तै, प्रेस स्वतन्त्रतामाथि नीतिगत बन्देज लगाइएको २ घटना र लैङ्गिक हिंसासम्बन्धी १ घटना अभिलेख गरिएको छ । लैङ्गिक आधारमा गरिएको विश्लेषणले पनि पत्रकारिताको अवस्था झन् चिन्ताजनक देखाएको छ ।

एक वर्षको अवधिमा १९० पुरुष र १० महिला गरी जम्मा २०० जना पत्रकार तथा सञ्चारमाध्यम प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोधमा परेका छन् । महिला पत्रकारमाथि लैङ्गिक हिंसाको घटना न्यून देखिए पनि जोखिम पूर्ण रूपमा हटेको भने छैन । प्रतिवेदनले प्रेस स्वतन्त्रताको हननसँगै यसको दुरुपयोगका घटनालाई पनि औंल्याएको छ ।

सन् २०२५ मा प्रेस स्वतन्त्रताको दुरुपयोगका १० घटना अभिलेख भएका छन् । तीमध्ये बागमती प्रदेशमा ५, मधेश प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ घटना भएको काउन्सिलले जनाएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: