वीरगञ्ज । काठमाडौँको शंखरापुर नगरपालिका–३, लप्सीफेदीस्थित फेदी जङ्गलमा पर्ने जर्सिङपौवा–साँखु सडकखण्डमा बुधवार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
साँखुस्थित नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारीहरू वनभोज (पिकनिक) मनाएर फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर यो दुर्घटना भएको हो ।
दुर्घटनामा सुरुमा ४ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाको निधन भएपछि मृतकको सङ्ख्या ५ पुगेको प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी बस्ने अन्दाजी ५५ वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष रहेका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा कोहलपुर नगरपालिका–५, बाँकेकी ४९ वर्षीय कामना शर्मा, ताप्लेजुङ पाथिभरा–५ की ५१ वर्षीय इन्दिरा लिम्बू, सिराहा स्थायी घर भई काठमाडौँ पेप्सीकोला बस्ने ५५ वर्षीय शान्ति गुप्ता, पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू र जोरपाटीका अर्जुन लामिछाने रहेका छन् ।
दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन् र उनीहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुषमा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल र शिक्षण अस्पताललगायत काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै घाइतेहरूलाई नजिकैको शंखरापुर अस्पताल लगिएको थियो । अस्पतालमा ल्याइएका ८ जनामध्ये कामना शर्माको अवस्था मृत घोषित गरिएको थियो । अस्पतालबाट दोलखाका केशव थामी, गोकर्णेश्वरका गोमा शिवभक्ति भुजेल र दुर्गाहरि पौडेललाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने महोत्तरीका ध्रुवप्रसाद रेग्मी, गोकर्णेश्वरकी सरस्वती गुरागाईँ र बुढानीलकण्ठकी सरिता खत्री खड्कालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । त्यस्तै, बुढानीलकण्ठ नगरपालिका कपनकी ४४ वर्षीय कृष्णकुमारी लिम्बूको अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ र दुर्घटनाको मुख्य कारण अझै खुल्न बाँकी रहेको छ । मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ । दुर्घटनाले सडक सुरक्षाप्रति थप सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सबैले गरेका छन् । सौजन्य यात्रा डेली

