Loktantra Khabar National Weekly
Ad

बजेटमा १० हजार मात्रै शीर्षक राखेर अघिल्लो सरकारले ठग्यो: उद्योगमन्त्री सिन्हा

लोकतन्त्र खबर
२३ पुष २०८२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा जम्मा १० हजार रुपैयाँ मात्र बजेट विनियोजन गरेकाले वर्तमान सरकारले व्यवसायीलाई अनुदान दिन नसकेको बताएका छन् । नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा तथा १०औँ निर्यात दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो खुलासा गरेका हुन् ।

उनले विदेशी मुद्रा आर्जनमा निर्यातको ठुलो भूमिका भए पनि तत्कालीन सरकारको अकर्मण्यताका कारण व्यवसायीहरू मारमा परेको टिप्पणी गरे । मन्त्री सिन्हाले आफूले पदभार ग्रहण गरेकै भोलिपल्ट व्यवसायीहरूलाई यस वर्षका लागि निर्यात अनुदान छैन भनेर जानकारी दिनुपर्ने दुःखद अवस्था आएको बताए। बजेटमा १० हजार मात्रै छुट्याइएको विषयमा व्यवसायीहरू आफैँ पनि अनभिज्ञ रहेको उनको भनाइ छ ।

सरकारसँग अहिले नयाँ बजेट विनियोजन गर्ने अधिकार नभएकाले अनुदान दिन नसकिएको प्रस्ट पार्दै उनले जेठ २२ अघिको बाँकी अनुदान फछ्र्यौट गर्न भने अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । आफ्नै प्रशासनका कर्मचारीहरूले काममा असहयोग गरेको भन्दै मन्त्री सिन्हाले कार्यक्रममा आक्रोश समेत व्यक्त गरे । उनले कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै अनुदान दिने भए दिने र नदिने भए नदिने भनेर छिटो निर्णय गर्न चेतावनी दिएको बताए । ‘मैले कर्मचारीहरूलाई भनिसकेको छु, काम गर्ने भए गर्नुस् नत्र तपाईंहरूकै नाम लिएर बाहिर जान्छु,’ उनले भने ।

उनले विगतमा गलत नेतृत्व चुनेका कारण प्रशासनमा त्यसको प्रभाव देखिएको भन्दै आगामी दिनमा सक्षम मान्छेलाई मात्र जिताएर संसद् पठाउन जनतालाई आग्रह गरे । सरकारले अहिले नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार पारिरहेको र त्यो अन्तिम चरणमा पुगेको मन्त्री सिन्हाले जानकारी दिए ।

उनले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता अभियानलाई सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। गुणस्तर विभागको कार्यालय जलेका कारण शून्यबाट काम सुरु गर्नुपर्दा केही चुनौती थपिए पनि प्रयोगशालाहरूको स्तरोन्नति गर्ने काम भइरहेको उनले बताए। सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: