लालबन्दी, २३ पुस – यो वर्ष मध्य चिसोयाममा पनि गोलभेँडाले प्रशस्त मुल्य पाइरहँदा सर्लाहीका किसान मख्ख परेका छन् । अघिल्ला वर्ष शीतलर चल्नेयाममा गोलभेँडा बिक्री नभएर किसान हैरान हुन्थे । केजीको १०/१२ रुपियाँमा बेच्न पनि मुस्किल पथ्र्यो ।
तर यो वर्ष भने किसानले गोलभेँडाको अनपेक्षित मुल्य पाइरहेका हुन् । सर्लाहीका किसानले अहिले गोलभेँडा व्यापारीलाई प्रतिकेजी १०० रुपियाँमा बिक्री गरिरहेका छन् । किसानसँग व्यापारीले १०० रुपियाँ प्रतिकेजी खरिद गर्ने गोलभेँडा उपभोक्ताले भने खुद्रा बजारबाट १२० रुपियाँसम्ममा खरिद गरी उपभोग गरिरहेका छन् । हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले कात्तिकमा भएको बेमौसमी वर्षाले गोलभेँडाको बोट नष्ट गरेकाले उत्पादन घटेको बताए ।
थोरै किसानले मात्र बेर्ना जोगाएर गोलभेँडा फलाउन सकेकाले राम्रो भाऊ पाइरहेका दोङको भनाइ छ । कात्तिकको पानीले बेर्ना नष्ट गरेपछि दोहो¥याएर रोप्न खोज्दा त्यतिबेला बजारमा गोलभेँडाको बीउ नै नपाएको किसानले बताएका छन् । सर्लाहीमा उत्तरी भेगको लालबन्दी, हीरापुर, पत्थरकोट, रानिगन्ज, घारिबथान, सासापुर, घुर्कौली, हरिवन, धरहरालगायत क्षेत्रमा व्यावसायिक रुपमा गोलभेँडा खेती हुन्छ । यस क्षेत्रका किसानले गोलभेँडा उत्पादन गरी लालबन्दी बजार वा सासापुर तीनघरेमा रहेको गोलभेँडा संकलन केन्द्रमा ल्याएर बिक्री गर्ने गरेका छन् ।
लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानले पहिलो पटक यसरी मध्यजाडोमा पनि गोलभेँडाको मुल्य यत्तिधेरै भएको बताए । सर्लाहीमा अहिले लालबन्दी र सासापुरबाट दैनिक एक हजार क्रेट भन्दा बढी गोलभेँडा संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा निर्यात भइरहेको छ । सौजन्य उज्यालो अभियान

