वीरगञ्ज । वीरगञ्जमा धार्मिक तनाव चर्किएपछि यहाँका मेयर राजेशमान सिंहले प्रशासन र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा पोस्ट गरेको लामो सन्देशमा धार्मिक द्वन्द्व चर्किएपछि मात्र सद्भाव ¥याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्ति कहिलेसम्म चलिरहने भन्दै प्रश्न गरेका छन् । मेयर सिंहले वीरगञ्ज बाहिर उत्पन्न विवादलाई सहरमा जबरजस्ती थोपरेर अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरूमाथि प्रशासनले कानुनी कारबाही किन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
“वीरगञ्ज किन बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बन्न बाध्य छ ? सदियौँदेखि जोगिँदै आएको हाम्रो भाइचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान हुँदैनन्,” उनको पोस्टमा उल्लेख छ । सिंहले शान्ति–सुरक्षा कायम गर्नु राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी भएको बताउँदै समाजका अगुवाहरूको भूमिका सहजिकरणमा मात्र सीमित हुने स्पष्ट पारेका छन् ।
“सम्भावित सुरक्षा जोखिमको आङ्कलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कारबाही गर्ने संयन्त्र सरकारसँग हुँदाहुँदै पनि बाहिरबाट आयातित विषयका कारण तनाव चर्किँदा सम्बन्धित निकाय किन जिम्मेवारीबाट पन्छिन खोज्छ ? आफ्नो स्वार्थका लागि पूरै सहरलाई भयभीत बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही किन हुँदैन ?” मेयर सिंहको प्रश्न छ ।
उनले वीरगञ्ज कुनै व्यक्ति, समूह वा एजेन्डाको बन्धक नभई शान्ति, सद्भाव र आपसी विश्वासको साझा सहर भएको बताउँदै भड्काउन खोज्नेहरूमाथि निष्पक्ष कारबाही नै दीर्घकालीन समाधान भएको जोड दिएका छन् । साथै, धर्म भावनासँग जोडिएको विषय भएकाले कसैले कसैको भावनासँग खेल्न नपाउने र भावना भड्काएर समाज बिथोल्न खोज्नेलाई छुट दिन नमिल्ने उनको स्पष्ट मान्यता छ । “आउनुहोस्, आपसी सद्भाव र भाइचारा अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र ‘वैभव वीरगञ्ज’ तर्फ एकजुट भएर अघि बढौँ,” अपिलका साथ पोस्ट समाप्त भएको छ ।
मेयर सिंहको पोस्टले वीरगञ्जको सद्भाव जोगाउन राज्यको सक्रिय भूमिका आवश्यक रहेको सन्देश दिएको छ भने तनावको जरैदेखि समाधान खोज्नुपर्ने मागलाई बलियो बनाएको छ । धनुषामा टिकटक भिडियोसम्बन्धी विवादबाट सुरु भएको मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा उत्पन्न धार्मिक तनावका कारण कफ्र्यु जारी छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार तनावपूर्ण स्थिति कायम रहेका कारण कफ्र्युको अवधि आज साँझ ६ बजेसम्म थपिएको छ ।
संवेदनशील क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ भने अफवाह फैलाउनेमाथि निगरानी बढाइएको छ । विभिन्न राजनीतिक तथा सामाजिक अगुवाहरूबाट शान्ति अपिल जारी रहेका छन् । प्रशासनले स्थिति सामान्य बनाउन प्रयास जारी राखेको जनाएको छ तर मेयर सिंहको पोस्टले कारबाहीको अभावलाई मुख्य समस्या औँल्याएको छ । वीरगञ्जवासीले दीर्घकालीन शान्तिका लागि कडा कदमको अपेक्षा गरेका छन् । सौजन्य यात्रा डेली

