वीरगञ्ज । धनुषामा मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा जारी साम्प्रदायिक तनाव र कफ्र्युको अवस्थामा नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजराले हिन्दु–मुस्लिम सद्भाव कायम राख्न भावुक अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जालमा एउटा कवितामय अपिल सार्वजनिक गर्दै धर्म र जातभन्दा मानवता ठुलो भएको सन्देश दिँदै दुवै समुदायलाई कुनै पनि किसिमको जातीय हिंसा नभड्काउन हार्दिक अनुरोध गरेका छन् ।
पूर्व सांसदसमेत रहेका हजराले अपिलमा हिन्दु–मुस्लिमलाई एउटै माटोका फूलको संज्ञा दिँदै घृणाले होइन प्रेमले सधैँ फुल्न आग्रह गरेका छन् । उनले हातमा हात मिलाएर अघि बढ्न, हिंसाको बाटो होइन शान्तिको बाटो छान्न सबैलाई आह्वान समेत गरेका छन् । धर्म फरक भए पनि मन एउटै हुने र मानवता नै सबैभन्दा ठुलो साँचो भएको उनको भनाइ छ । दङ्गा, द्वेष र हिंसा सबै त्यागेर भाइचाराले नयाँ समाज लेख्न उनले सबैलाई प्रेरित पनि गरेका छन् ।
मस्जिद होस् वा मन्दिर, शान्ति र प्रेमको सन्देश नै सधैँ साँचो हुने उनको अपिलमा उल्लेख छ । हिन्दु–मुस्लिमलाई भाइभाइ बनाउन, जातीय हिंसा होइन एकता छान्न तथा धर्म वा नफरतले नबाँडियोस् भन्ने उनको आग्रह छ । नेपाललाई साझा घर मान्दै यसलाई जोगाउन र हिन्दु–मुस्लिमलाई एक परिवारको रूपमा हेर्दै शान्ति र सद्भावलाई नै पहिचान बनाउन उनले सबैलाई अपिल गरेका छन् ।
साथै, धर्मको नाममा अशान्ति फैलाउनेलाई छानबिन गरी नेपाल सरकारसँग कारबाहीको जोडदार माग पनि उनले गरेका छन् ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मदनमा गत शनिवार मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाएको घटनाको विरोधमा सुरु भएको तनावका कारण वीरगञ्जमा कफ्र्यु जारी छ । सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्मका लागि लगाइएको कफ्र्यु अवस्था सामान्य नभएपछि दिउँसो १ बजेसम्म थपिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रमा सतर्कता आवश्यक रहेका कारण कफ्र्यु निरन्तर राखिएको हो । मुख्य बजार, चोक र संवेदनशील स्थानमा प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । प्रशासनले अफवाहमा नपर्न र संयम अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय पर्सामा तनावको समाधान खोज्न सर्वपक्षीय बैठक सुरु भएको छ । सौजन्य यात्रा डेली

