Loktantra Khabar National Weekly
Ad

मधेशमा विपद् जोखिम न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्छ ः प्रदेश प्रमुख कर्ण

लोकतन्त्र खबर
१९ पुष २०८२

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मधेशमा बारम्बार आइपर्ने प्राकृतिक विपद्प्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित नेपालमा बाढीको तयारी, जोखिम न्यूनीकरण तथा विपद् पश्चात् पुनस्र्थापना विषयक नीतिपत्र समर्पण कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख कर्णले विपद्का कारण मधेश प्रदेश निरन्तर त्रस्त रहेको भन्दै जोखिम न्यूनीकरणदेखि पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, “आफू पनि सरकारको अंग रहेको अवस्थामा म संवेदनशील छु । तर सम्बन्धित निकायहरूले विपद् पूर्वतयारीका लागि इमान्दारीपूर्वक पहल गर्नुपर्छ ।

समयमै तयारी गर्न सके जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।” अमेरिकन सोसाइटी अफ नेपाली इञ्जिनियर्सद्वारा आयोजित उक्त कार्यक्रममा संस्थाका प्रतिनिधि उपेन्द्र कर्णले बाढीको तयारी, जोखिम न्यूनीकरण तथा विपद् पश्चात् पुनस्र्थापना शीर्षकको पुस्तक प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रमुख कर्णले सो पुस्तक आफ्ना सचिवलाई हस्तान्तरण गर्दै पुस्तकमा समावेश जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान र सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिए । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मधेश प्रदेशमा पटक–पटक आइरहेका बाढी तथा अन्य विपद्का विषयमा आफ्ना अनुभव, राय र सुझावहरू पनि प्रस्तुत गरेका थिए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: