आगामी सन् २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज (बुधबार) विज्ञप्ति जारी गरी टी–२० विश्वकपको ट्रफी टुर कार्यक्रम आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा हुने जानकारी दिएको हो।
यद्यपि यसको सम्पूर्ण विवरण, तालिका, स्थान र गतिविधिसम्बन्धी जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने प्रवक्ता छुम्बी लामाले उल्लेख गरेका छन्।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ।
जसमा नेपाल पनि सहभागी हुँदै छ। नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेको समूहमा छ।
फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका छ।
विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।
हरेक समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान बनाउने छन्।
सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
फाइनल खेल मार्च ८ मा हुनेछ। सौजन्य नेपालखबर

