अर्जुन यादव
सर्लाही सदरमुकाम मलंगवास्थित नयाँ बसपार्क मंगलबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। निर्माण सम्पन्न भएको तीन वर्षपछि सञ्चालनमा आएको उक्त बसपार्कलाई लिएर साना सवारी व्यवसायीले भने विरोध जनाएका छन्। उनीहरूले साना सवारीसाधनलाई पनि सोही बसपार्क प्रयोग गर्न दिनुपर्ने माग राख्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
बस तथा साना सवारी व्यवसायीबीच यात्रु चढाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएकाले सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आउन सकेको थिएन। विवादकै कारण बसहरू वडा नम्बर ९ स्थित मुख्य बजार क्षेत्रभित्र रहेको कृषि विकास बैंकको जग्गाबाट सञ्चालन हुँदै आएका थिए।
नयाँ बसपार्क लामो समयसम्म प्रयोगविहीन भएपछि प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले करिब दस दिनअघि सरोकारवालासँग छलफल गरी पुस १ गतेदेखि नयाँ बसपार्क सञ्चालनमा ल्याउने निर्णय गरेका थिए। सोही निर्णयअनुसार मंगलबारदेखि बसपार्क औपचारिक रूपमा सञ्चालनमा आएको हो।
प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार बसहरू नयाँ बसपार्कबाट सञ्चालन गरिएको छ भने साना सवारीसाधन जिविस चोकस्थित मैदानबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। तर साना सवारीधनीहरूले उक्त निर्णय स्वीकार नगरेको जनाउँदै साना सवारीलाई पनि बसपार्क प्रवेशको अनुमति दिनुपर्ने मागसहित विरोध प्रदर्शन गरिरहेका छन्।
मलंगवा नगरपालिका–२ मा जिल्ला प्रहरी कार्यालय नजिकै करिब ८ करोड ३१ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त बसपार्क तीन वर्षअघि नै सम्पन्न भए पनि विवादका कारण सञ्चालनमा आउन सकेको थिएन। अब बसपार्क सञ्चालनमा आएसँगै यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिए पनि साना सवारी व्यवसायीको विरोधका कारण अवस्था अझै तनावग्रस्त बनेको छ।

