वीरगञ्ज । नेपाल–भारतको प्रमुख प्रवेशद्वार मानिने वीरगञ्ज–रक्सौलस्थित मितेरी पुल क्षेत्रलाई स्वच्छ, हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले सुरु भएको संयुक्त सरसफाइ तथा वृक्षारोपण अभियान निरन्तर रूपमा अगाडि बढेको छ । वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजना एवं सहकार्यमा सञ्चालित अभियानले सीमा क्षेत्रको मुहार फेरिरहेको छ । अभियानअन्तर्गत मितेरी पुल वरपरको फोहोर सङ्कलन, सडकछेउका झाडी कटान, विभिन्न प्रजातिका सयौँ बिरुवा रोपण तथा पुराना हरियालीको संरक्षण गरिँदै छ । बुधवार मितेरी पुलको दुवै तर्फ रहेको खाली स्थानमा वृक्षारोपण गरिएको छ । क्षेत्रलाई हरियो र वातावरणमैत्री बनाउनुका साथै आकर्षक देखाउन पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक पूरणचन्द्र भट्टलगायत सहयोगी सङ्घसंस्थाहरूका प्रतिनिधिहरूले वृक्षारोपण गरेका हुन् । वृक्षारोपण गर्दै प्रहरी उपरीक्षक पाठकले सफा, हरियालीपूर्ण र आकर्षक मितेरी पुल क्षेत्रले वीरगञ्जको सौन्दर्य बढाउनुका साथै यहाँ आउने यात्रु र स्थानीयको मनोबल पनि उच्च बनाउने बताए । त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्टले सीमा क्षेत्रको सुरक्षित, स्वच्छ र हरियालीयुक्त वातावरण निर्माणमा सबै क्षेत्रको सामूहिक भूमिका अपरिहार्य रहेको बताए । उनले समुदायले मिलेर गरिरहेको काममा सशस्त्र प्रहरी सधैँ हातेमालो गर्न तयारी रहेको पनि जिकिर गरे । सोहीगरी महानगरपालिकाको सरसफाइ महाशाखा प्रमुख सर्फुदीन मियाँले मितेरी पुल वीरगञ्जको प्रवेशद्वार भएकाले यसलाई सफा, हरित र सुन्दर बनाउनु आफ्नो प्रमुख दायित्व रहेको बताए । यस्तै ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अभियानलाई चरणबद्ध रूपमा अगाडि बढाउने र स्थानीय बासिन्दा, व्यापारी तथा विद्यार्थीलाई समेत सहभागी गराउने योजना रहेको जानकारी दिए । दैनिक हजारौँ यात्री र सवारीसाधनको आवागमन हुने वीरगञ्ज–रक्सौल नाका यसअघि फोहोर, हरियालीको अभाव र सौन्दर्यहीनताको समस्याबाट ग्रस्त थियो । निरन्तरको सरसफाइ र हरियाली अभियानपछि स्थानीयवासीले वातावरणमा आएको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गरेका छन् । आयोजकहरूले रोपिएका बिरुवाको दीर्घकालीन हेरचाह र संरक्षणका लागि नियमित अनुगमन गर्ने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । अभियानले वीरगञ्ज–रक्सौल सीमा क्षेत्रलाई प्रदूषणमुक्त, व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्र बनाउने अपेक्षा गरिएको छ । सौजन्य यात्रा डेली

