मलंगवा, मंसिर – सर्लाही सदरमुकाम मलंगवामा पनि आज सीता र रामको डोला निकालेर विवाह पञ्चमी मनाइएको छ । सदरमुकाम मलंगवा नगर परिक्रमासहित जनकपुरको झैँ झल्को दिने गरी विवाह पञ्चमी महोत्सव मनाइएको हो । त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक भएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा नै दिएको थियो । सौजन्य उज्यालो अभियान

