Loktantra Khabar National Weekly
Ad

बसपार्क संचालनको लागी छिट्टै बैठक बोलाउने तयारी भईरहेको छ ः सिडियो कडरिया

लोकतन्त्र खबर
७ मंसिर २०८२

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका– २ मा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न बसपार्क वर्षौँदेखि अलपत्र परे पनि अब संचालनमा ल्याउनका लागि सबै सरोकारवालाहरूसँग छलफलका लागि छिटै बैठक बोलाउने तयारी थालेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी गराएका छन् । प्रजिअ कडरियाका अनुसार, पुरानो बसपार्क रहेको जग्गा कृषि विकास बैंक लिमिटेडको नाउमा दर्ता कायम रहेको र सो जग्गामा बैंकको आफ्नै भवन निर्माणका लागि बजेट समेत स्वीकृत भएर आइसकेको हुनाले अब नयाँ बसपार्क संचालन गर्न अनिवार्य बनेको छ ।

यात्रुहरूलाई व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न सेवा उपलब्ध गराउन सके मलंगवाको यातायात तथा व्यापारिक गतिविधि समेत थप सुदृढ हुने अपेक्षा गरिएको उनले बताए । सहयोग, सहकार्य र प्रभावकारी समन्वयको माध्यमबाट मलंगवा बसपार्क चाँडै पूर्ण रूपमा सञ्चालनमा आउने वहाँको धारणा रहेको छ ।
रामकविर मठले उपलब्ध गराएको २५ रोपनी क्षेत्रफलमा संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामको ८ करोड ३१ लाख रुपैयाँको लागतमा कनकाई इन्टरनेसनल बिल्डर्स, सुरुङ्गा, झापाले निर्माण गरेको यस बसपार्कमा साढे दुई तले टर्मिनल भवन, यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय, खानेपानी र वर्कसप क्षेत्रलगायतका अत्याधुनिक सुविधा रहेका छन् । यहाँ एकै पटक ५२ वटा ठूला र २० वटा साना सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ ।
वर्षौंदेखि निर्माण सम्पन्न भए पनि बस व्यवसायीहरूबीचको आन्तरिक मनमुटावका कारण बसपार्क सञ्चालन हुन नसकेको विषयलाई अब प्रशासनले प्राथमिकतामा राखेको छ । प्रमुख जिल्ला अधिकारी कडरियाले सबै सरोकारवालाहरूसँग छलफलका लागी छिट्टै बैठक बस्ने र बसपार्क तत्काल सञ्चालनमा ल्याउने प्रष्ट धारणा व्यक्त गरेका छन् ।
निर्माण सम्पन्न भए पश्चात् संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले २०७९ माघ ४ गते मलंगवा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको थियो । सो लगत्तै २०७९ फागुन १ गते सोमबारका दिन नगरप्रमुख नागेन्द्र प्रसाद यादव र तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा बसपार्कको उद्घाटन गरेका थिए । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: