वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरा बजार क्षेत्र बिहीबार पुनः तनावग्रस्त बनेको छ । बुधवार नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेतको भ्रमणविरुद्ध भएको प्रदर्शन र त्यसपछिको झडपका दोषीहरूमाथि कारबाहीको माग गर्दै ‘जेन–जी’ युवा समूहले बिहीबार बिहानदेखि सिमरा बजार पूर्ण रूपमा बन्द गराएका छन् ।
जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् । उनीहरूले बुधवार शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेताहरूमाथि कडा कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीले सिमरा उपमहानगरपालिका–१ का तारा बस्नेतसहितका व्यक्तिलाई विपक्षी बनाउँदै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी समेत दर्ता गराएका छन् ।
बुधवार दिउँसो सिमरा विमानस्थलमा भएको झडपमा एमाले कार्यकर्ताले जेन–जी युवालाई कुटपिट गरेको र एक नेताले थप्पड हानेको आरोप प्रदर्शनकारीले लगाएका छन् । सोही घटनापछि स्थिति बिग्रिँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने दिउँसो १२ः३० देखि साँझ ८ बजेसम्म निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको थियो ।
बिहीबार बिहान कफ्र्यु पूर्ण रूपमा हटाइएपछि स्थिति सामान्य बन्दै गएको बताइए पनि जेन–जी युवाको पुनः विरोध सुरु गरेपछि फेरि तनाव सिर्जना भएको छ । सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी विजयराज पण्डितले स्थिति नियन्त्रणमा रहेको र वार्ताद्वारा समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । “बुधवारको घटनाको अनुसन्धान भइरहेको छ, दोषी जो सुकै भए पनि कारबाही हुन्छ,” उनले भने ।
यसअघि बिहीबार बिहानै सिमरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको र सबै उडान नियमित भएको विमानस्थल प्रशासनले जनाएको थियो । तर जेन–जी युवाको नयाँ आन्दोलनपछि यात्रुहरू फेरि अन्योलमा परेका छन् ।
जेन–जी युवाहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण रहेको र न्याय नपाएसम्म नरोकिने चेतावनी दिएका छन् । स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । सौजन्य यात्रा डेली

