राष्ट्रका लागि २ घण्टा’ अभियानअन्तर्गत विश्वविद्यालयका विद्यार्थीलाई बनाइयो ट्राफिक स्वयंसेवक
वीरगञ्ज । ‘राष्ट्रका लागि २ घण्टा’ नारा सहित आजदेखि वीरगञ्जमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मधेस विश्वविद्यालयका विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा परिचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक युवराज कटुवालका अनुसार अभियानले सहरको यातायात प्रणाली सहज बनाउनुका साथै युवाहरूलाई सामुदायिक सुरक्षामा सक्रिय रूपमा योगदान दिन प्रोत्साहित गर्ने उद्देश्य रहेको छ ।
विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियम, भिडभाड व्यवस्थापन लगायतका विषयमा आवश्यक निर्देशन दिइएपछि उनीहरूलाई आजदेखि घण्टाघर, वीरगञ्ज बसपार्क, पावर हाउस चौकलगायतका व्यस्त स्थानमा खटाइने भएको छ ।
प्रहरी उपरीक्षक कटुवालका अनुसार अभियानले ट्राफिक व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्नुका साथै युवा पुस्तामा सुरक्षा सचेतना, जिम्मेवारी बोध र नेतृत्व क्षमता विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक प्रहरीले ‘सुरक्षा पहिले’ को अवधारणालाई व्यवहारमा उतार्न युवाको सहभागिता अत्यन्त महत्त्वपूर्ण रहेको जनाएको छ । सौजन्य यात्रा डेली

