मलंगवा, २५ कात्तिक – सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपसचिव होमप्रसाद घिमिरेले मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएसाँझ सरुवा निकाल्दै लालबन्दी ५ निवासी घिमिरेलाई मलंगवा नगरपालिकामा पठाएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक वर्षअघि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयमा सरुवा भएका घिमिरे भर्खरै महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएका थिए । मन्त्रालयले घिमिरेलाई आफ्नै गृह जिल्लामा सरुवा गरेर मलंगवा नगरपालिका पठाएको हो । मलंगवा नगरपालिकामा लामो समयदेखि शिक्षा शाखाका उपसचिव होमनाथ सुवेदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दै आएका थिए । मलंगवा नगरपालिकामा अहिले मेयर नागेन्द्रप्रसाद यादवप्रति असन्तुष्टि जनाउँदै उपमेयर र वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई अब कार्यालयको तालाबन्दी खुलाएर कामकाज अघि बढाउने चूनौति छ । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा रहेका ब्रम्हपुरी गाउँपालिकामा शाखा अधिकृत धनन्जयप्रसाद दास र कौडेना गाउँपालिकामा शाखा अधिकृत सुरेशप्रसाद दास प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भइसकेका छन् । सौजन्य उज्यालो अभियान

