वीरगञ्ज । मधेस प्रदेशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । धारा अनुसार, प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताले सरकार गठन गर्न सक्छ । एमाले प्रदेशसभामा २५ सिटसहित सबैभन्दा ठूलो दल हो ।
नियुक्ति आइतबार अबेर राति भएको पनि मुख्यमन्त्रीलगायत नवनियुक्त मन्त्रीहरूको शपथ भने सोमबार बिहान करिब ४ बजे महोत्तरी र सिन्धुलीको सीमामा पर्ने एक होटेलमा गराइएको छ ।
प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्या भएको भन्दै सोमबार बिहानै काठमाडौँ प्रस्थान गर्न जनकपुरबाट निस्केकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले नै उनलाई बिदाइ गरेका थिए । तर, बाटोमा नै उनले यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । शपथपछि भण्डारी काठमाडौँ लागेकी छन् ।
निवर्तमान मुख्यमन्त्री सोनलले कार्तिक २२ गते शनिवारका दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । तर, पर्याप्त समर्थन नपाउने देखेपछि उनले प्रदेशसभामै राजीनामा घोषणा गरेका थिए । सोनल गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीसहित पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राजीनामापछि नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत दाबी गर्न आह्वान हुनुपर्ने माग उक्त छ दलले गरेका थिए ।
आइतबार दिउँसोदेखि नै एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने चर्चा चलेको थियो । चर्चा चलेपछि नेपाली काँग्रेससहितका दलहरूले विरोध प्रदर्शन गर्दै प्रदेश प्रमुख भण्डारीलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो निर्णय नगर्न चेतावनी दिएका थिए । तर, भण्डारीले संविधानविद् र कानुनविद्सँग परामर्श गरेपछि सोमबार बिहान यादवलाई नियुक्त गरेकी हुन् ।
विश्वसनीय स्रोतका अनुसार, जनकपुरमा विरोध प्रदर्शनको आशङ्काका कारण शपथ कार्यक्रम होटेलमा गरिएको हो । मुख्यमन्त्री नियुक्त भएपछि सार्वजनिक भएको एक भिडियोमा यादवले जनकपुरमा विरोध प्रदर्शनका कारण सिन्धुलीमा कार्यक्रम गरिएको स्वीकार गरेका छन् ।
मुख्यमन्त्री यादवको नियुक्तिसँगै तीन जना मन्त्री पनि नियुक्त भएका छन् । नेकपा (एमाले) बाट लखन दास, नेपाल सङ्घीय समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका छन् । उनीहरूको पद तथा गोपनीयताको शपथ पनि सोही होटेलमा प्रदेश प्रमुख भण्डारीले ग्रहण गराएकी थिइन् । शपथ समारोहमा नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राप्रपाकी एक सांसद सहभागी थिए ।
घटनाले मधेस प्रदेशमा ठूलो विवाद सिर्जना गरेको छ । निवर्तमान मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनलले प्रदेश प्रमुख भण्डारीमाथि कडा आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियोसहित उनले लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला, अर्को स्वास्थ्यको कुरा गरिन् । प्रदेश प्रमुखले लोकतन्त्र र सङ्घीयतालाई धरापमा पार्ने काम गर्दै प्रदेशको अस्मिता समाप्त गर्न खोजेकी छिन् । बिहान ४ बजे उहाँले स्वास्थ्य उपचारका लागि काठमाडौँ जाँदै छु भन्नुभयो, मैले बिदाइ पनि गरेँ । तर केही बेरमै खबर आयो, उहाँले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिसक्नुभयो । यो मधेसको लागि दुर्भाग्य हो ।” उनले प्रदेश प्रमुखले मधेसी जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
नियुक्तिले मधेस प्रदेशमा राजनीतिक अस्थिरता बढाउने आशङ्का गरिएको छ । विपक्षी दलहरूले यसलाई असंवैधानिक भन्दै विरोध गर्ने तयारी गरेका छन् । यादवले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । यदि उनले बहुमत सिद्ध गर्न सकेनन् भने फेरि नयाँ प्रक्रिया सुरु हुन सक्छ । सङ्घीयता र संवैधानिक प्रक्रियामाथि प्रश्न उठाउँदै घटना मधेस प्रदेशको राजनीतिक इतिहासमा एक विवादास्पद अध्याय बनेको छ । प्रदेश प्रमुखको कदमलाई कतिपयले ‘रातारातको खेल’ भनेका छन् भने कतिपयले संवैधानिक अधिकारको प्रयोग मानेका छन् । सौजन्य यात्रा डेली

