जनकपुरधाम । मधेस प्रदेशमा सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरिएको विरोधमा सात दलका नेता तथा कार्यकर्ताहरूले सोमबार मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन्।
विरोधमा उत्रिएका कार्यकर्ताहरूले नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध नाराबाजी गर्दै उहाँ कार्यालय पुग्ने सूचना पाएपछि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए। त्यस क्रममा आक्रोशित कार्यकर्ताहरूले कार्यालय परिसरमा तोडफोड गरेका हुन्।
त्यसैगरी, प्रदर्शनकारीहरूले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयसहितका अन्य मन्त्रालयहरूमा तालाबन्दी समेत गरेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदीले नेकपा एमालेका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
मुख्यमन्त्री नियुक्त भएपछि यादवले एमाले, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मिलित संयुक्त सरकार गठन गरेका छन्। उक्त सरकारमा एमालेका लखन दास, संघीय समाजवादीकी बिमला अन्सारी र राप्रपाकी कन्चन बिच्छा मन्त्री बनेका छन्।
यसअघि, विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले गत शुक्रबार राजीनामा दिएका थिए।
नवनियुक्त मुख्यमन्त्रीको नियुक्ति ‘संविधान मिचेर गरिएको’ भन्दै सात दलका नेता तथा कार्यकर्ताहरूले राजनीतिक आन्दोलनका तयारी तीव्र पारेका छन्। सौजन्य यात्रा डेली

