लोकतन्त्र समाचारदाता–
सर्लाही ११ भाद्र । नापनक्सा सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उदेश्यले सर्लाहीका ६० जना भन्दा बढि प्राविधिकलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाका हलमा भाद्र ११ गते देखि १२ गते सम्म दुईदिने नापनक्सा सम्बन्धी तालिम भुमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीको आयोजनामा शुरु भएको हो ।
जिल्लामा रहेका २० वटा स्थानीय तहमा कार्यरत ६० जना भन्दा बढि अमिन लगायत प्राविधिकहरुलाई सुकुमवासी र जग्गा नहुने व्यतिmहरुलाई जग्गा उपलब्ध कसरी गराउने, भुमिहिनलाई दिने जग्गाको लगत कायम कसरी गर्ने तथा कितानापीका विधी प्रक्रियाबारेमा आयोगका सदस्य सचिव संजय मानन्धरले अभिमुखिकरण कार्यक्रममा उपस्थित प्राविधिकहरुलाई प्रशिक्षण दिनुभयो ।
भुमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीका अध्यक्ष मदन बहादुर बिश्वकर्माले आयोगसंग सम्बन्धित गठन आदेश, ऐन नियमहरु, लगत संकलन लगायत कार्यविधी र मापदण्डहरुका विषयमा उपस्थित कर्मचारी प्राविधिकहरुलाई वृहत छलफल गर्नुभयो ।
नापनक्सा, संग सम्बन्धित दस्तावेजहरु ( नक्सा, फिल्डबुक, स्केच, मुचुल्का र श्रेस्ताहरुको बारेमा नापी अधिकृत अनवर शाहले प्रशिक्षण दिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अन्तिम दिन बिहिवार स्थानीय तहहरुमा भएको काम र प्रगतीको बारेमा प्रगती विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
नेपाल सरकारले ५ लाख नेपाली भुमिहिन जनतालाई जग्गाधनी प्रमाण–पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । यसै कार्यक्रम अन्तरगत सर्लाही जिल्लाका सैकडो भुमिहिन जनताले आवेदन दिएकाले यस जिल्लाका भुमिहिनहरुले बढि भन्दा बढि लाभ लिन सकुन भनेर लगत कायम गर्न प्राविधिक कर्मचारीहरुलाई नापनक्सा सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको भुमि समस्या समाधान आयोगका केन्द्रिय सदस्य आरती भण्डारीले बताईन ।
नापनक्सा सम्बन्धी अभिमुखिकरण कार्यक्रमको उदघाटन शत्रमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत संचारकर्मी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

