मनोज कुमार यादव
रुमलंगवा ०३ सर्लाही । गौर घटनाको छानबिन गर्ने नाममा सर्वोच्च अदालतले दिएको जालझेलपूर्ण परमादेशले मधेश जनविद्रोह र सहिदहरूको बलिदान माथि आघात पुगेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, सर्लाहीले सोमबार विरोध प्रदर्शन गरेको छ । विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो”, “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
उनीहरूले इन्सेकसहितका मानवअधिकार संस्थाले सार्वजनिक गरेका प्रतिवेदनलाई बेवास्ता गर्दै आएको सर्वोच्च अदालतको दृष्टिकोणले मधेशी जनताको संघर्षप्रति अन्याय गरेको आरोप लगाए । विरोध सभामा जसपा नेपालका पुर्व राष्टिूय सभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको उल्लेख गर्दै सहिदको बलिदानलाई न्याय नदिने न्यायालयको आदेशलाई अस्वीकार गर्ने चेतावनी दिए ।
उनीहरूले भने, “गौर घटना मधेश आन्दोलन सँग प्रत्यक्ष रूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न सकिँदैन ।” घटना भएको झण्डै १९ बर्ष पछि राजनीतिक पुर्वाग्राही राखि मुलुकमा संघियता र पहिचानको मुद्दा समाप्त पार्न राज्यले अदालतको प्रयोग गरि षडयन्त्र गरेको जसपाका नेता बिजय यादवले आरोप लगाए । २०६३ साल चैत्र ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।

