मनोज यादव—-
सर्लाही,साउन २९ । विपन्न र दलित समुदायका बालबालिकाको भविष्य उज्यालो बनाउन निरन्तर योगदान दिँदै आएका ट्युसन मास्टर शिवनाथ राउत कहारलाई चन्द्रनगर गाउँपालिकाले विशेष सम्मान गरेको छ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रमको आयोजना गरि राउतलाई बधाईपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। उनले राउतलाई “स्थानीय समुदायको गर्व” भन्दै सामाजिक सेवा र शिक्षामा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
हालै राउत देशभरका ४० वर्ष मुनिका ४० प्रभावशाली युवामध्ये एक भएर अनलाइनखबर मिडियाबाट राष्ट्रिय स्तरमा सम्मानित भएका थिए।
शारीरिक रूपमा अपांगता भएका राउत करिब एक दशकदेखि बिहान ६ देखि ८ बजेसम्म आफ्नै घरमा करिब ३० जना दलित, मुसहर र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आएका छन्।
पढाइसँगै, विभिन्न सहयोगी संस्था र व्यक्तिहरूको मद्दतमा उनी विद्यार्थीलाई पुस्तक, कापी, कलम, झोला जस्ता आवश्यक सामग्रीहरू पनि उपलब्ध गराउँदै आएका छन्।
मात्र एउटा लौरोको सहारामा हिँड्ने यो शिक्षकको समर्पणले गाउँको शिक्षा र प्रेरणाको स्तरलाई नयाँ उचाइमा पुर्याइरहेको स्थानीय बुद्धिजीवीहरुले बताए छन् ।

