मनोज यादव–
सर्लाही २४ श्रावण । सर्लाही सहित मधेश प्रदेशका ८ जिल्लामा रक्षा बन्धन पर्व धुमधामका साथ मनाउदै छ । हर्सोउल्लास र खुसीका साथ रक्षा बन्धन पर्व मधेश प्रदेश भरि मनाउदै हो । चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनी बीच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ ।
यस पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा रक्षा बन्धन वा ‘राखी’ भनिन्छ । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीले तयारी पहिले देखि नै गरेको भएर राखीमय माहौल बनेको छ ।
बिहानैदेखि दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र सुखसमृद्धिको कामना गरेका छन् । तर सर्लाहीको बजार भने सुनसान देखियो । स्थानीय व्यापारीका अनुसार, धेरै ग्राहक किनमेलका लागि सिमापारी भारतको बजारमा गएका कारण यहाँको बजारमा भीडभाड कम रह्यो ।
चाडपर्वको बेला समेत अपेक्षा अनुसार व्यापार नहुँदा व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् । व्यापारीहरूका अनुसार, भारतीय बजारमा तुलनात्मक रूपमा सस्तो मुल्य र बढी विकल्प उपलब्ध हुने भएकाले ग्राहक आकर्षित हुने गरेका छन् । सीमापारको बजारतर्फको आकर्षण बढ्दै जाँदा सर्लाहीका पसलहरूमा बिक्री घट्ने क्रम निरन्तर देखिएको छ ।
रक्षाबन्धन पर्वमा गुरूपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मधेशमा छ । यद्यपि पर्वको मुख्य आकर्षण चाहिँ दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको पत्रकार मनोज यादव बताउनु हुन्छ ।
सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन रहि आएको छ ।
त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षा कवच) बाँधी दिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्ष साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै रक्षा बन्धन वा राखी बाँधी दिने परम्परा रहेको पत्रकार यादव बताउछन ।

