बबिता धामी–
सर्लाही २० श्रावन । सर्लाही जिल्लाका किसानहरू लामो समयको पछि २ दिन देखि लगातार वर्षा भएपछि उत्साहित भएका छन् ।
मधेश प्रदेशका ८ जिल्लामा गएको २ दिन देखि लगातार वर्षा भएपछि यस क्षेत्रअन्तर्गतका किसान लगायत स्थानीयवासीहरु खुसि भएको हो ।
सर्लाहीका प्रमुख शहर जस्तै बरहथवा, बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, बलरा, गोडैता मलंगवा र चन्द्रनगरका विभिन्न वडाहरुका किसानहरूले समयमै रोपाइँ गरेका भएपनि वर्षा नहुदा खेतमा लगाएको धानवालीको बिउ सुकदै गएका थिए ।
यी क्षेत्रहरुमा बागमती सिंचाइ आयोजना र विभिन्न नदी र नहरहरुबाट, बोरिङ र कुलो प्रणालीमार्फत वैकल्पिक सिंचाइ सुविधा उपलब्ध भएका कारण लगभग ५० प्रतिशत किसानले ३० दिनअघि धान रोपिसकेका छन् र अहिले मल छर्ने कार्यमा छन् । ४० प्रतिशत किसान अझै पनि आकाशे पानीको भरमा छन् ।
यसैगरी सर्लाहीको भित्री क्षेत्रअन्तर्गत बिष्णु गा.पा. बसवरिया गा.पा. कौडेना गा.पा. धनकौल गा.पा. रामनगर गा.पा.९ वटा स्थानीय तहका किसानहरू आकाशे पानीकै भरमा धान खेती गर्दै आएका छन् । यहाँ ९० प्रतिशत किसान अझै पनि वर्षामा निर्भर छन्, ।
बोरिङ मार्फत सिंचाइ ५ देखि १० प्रतिशतमा सीमित छ । सर्लाहीको भित्री मधेशमा असार सुरु भएदेखि पर्याप्त वर्षा नहुँदा रोपिएको धान घामको तापले जलिरहेको थियो र जमिनमा चिरा परेको थियो ।
यस्तो अवस्थामा गएको दुइ दिन देखि परेको सिमसिमे वर्षाले जमीन भिजेर मलिलो बनेको र धानबालीलाई क्षति हुनबाट जोगाएको किसानहरूको विश्वास छ ।
कविलासी नगरपालिकाका किसान रुपेश यादवको भनाई अनुसार, “अहिले सम्मको खडेरीले धानका बोटहरू सुक्न थालेका थिए, जमीनमा चिराचिरा परेको थियो र कीरा रोगको डर बढेको थियो । दुई दिन देखि परेको पानीले युरिया मल छर्ने समयमै भिजाइ भएको छ, यसले धान बालीलाई ठुलो फाइदा पुगेको किसान यादवको भनाई रहेको छ ।
त्यस्तै, अर्का किसान बेचन साहले वर्षा नपर्दा बाली मात्र होइन, मानिसहरू पनि अत्यधिक गर्मीबाट हैरान भएका थिए । २ दिन देखि परेको पानीले बाली र मानव दुवैलाई राहत दिएको छ”, उनले भने । जिल्लाभर करिब ७५ प्रतिशत धान रोपाइँ भइसकेको र बाँकी २५ प्रतिशत खेतमा पनि अब धानको रोपाई हुने स्रोतहरूले जनाएका छन् ।
हालको वर्षाले बाँकी रोपाइँ सम्पन्न गर्न र रोपिएको बालीलाई बचाउन सहयोग पुग्ने अनुमान गरिएको छ । यो वर्ष धान उत्पादनमा सर्लाही जिल्लाको स्थिति मधेस प्रदेशका अन्य जिल्लाहरूको तुलनामा सन्तोषजनक रहने अनुमान गरिएको छ ।
सिमसिमे भए पनि निरन्तर वर्षाले जमीन भिजाउने र धानको बोटमा हरियाली ल्याउने कार्यमा ठूलो टेवा पुगेको जिल्लाका किसानहरुको भनाई रहेको छ ।

