लोकतन्त्र समाचारदाता–
सर्लाही, साउन १८। तराई मधेशमा परेको लामो खडेरी र त्यसबाट सिर्जित खेती तथा खानेपानीको गम्भीर संकटबारे जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीले विज्ञप्ती मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
आइतवार मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय मार्फत सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा भनिएको छ, वर्षा नहुँदा सिँचाइ विहीन ठूला भू–भागमा खेती गर्न नसकिएको छ, भने सीमित क्षेत्रमा गरिएको खेतीमा मल खाद्यको चरम अभाव देखिएको छ ।
सरकारले घोषणा मात्र गरेर किसानलाई राहत नदिएको भनि गुनासो गरिएको छ । सर्लाही लगायत मधेशका सहर तथा गाउँहरूमा पानीको सतह तल झरेर धारामा पानी आउन छाडेको र जनजीवन कष्टकर बनेको जनाइएको छ ।
ज्ञापन पत्रमा सुख्खाग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गर्न, कृषि ऋणमा छुट दिन, न्यायोचित रूपमा मल खाद्य वितरण गर्न, बोरिङ जडान प्रक्रिया सरल बनाउन, पानीको स्थायी समाधानका लागि चुरे संरक्षण र जलाशय निर्माण गर्न, चुरे दोहन बन्द गर्न लगायत ११ बुँदे माग राखिएको छ ।
जसपा नेपाल जिल्ला संयोजक विजय कुमार यादव तथा कविलासी नगरपालिका सर्लार्हीका पुर्व मेयर कौशलकिशोर यादव सहितका महानुभावहरुले चेतावनी सहित भनेका छन । सरकारको निष्क्रियताका कारण जनता पीडित भएको र तत्काल समाधान नभए कडा आन्दोलनमा जान सक्ने बताएको छ ।

