मनोज यादव—
सर्लाही,साउन १० सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका अन्तर्गत बारूण यन्त्र (दमकल) चालक राम प्रसन्न पासवानमाथि पानी वितरणको क्रममा दुर्व्यवहार भएको छ।
नगरपालिकाको आदेशमा बिहीबार राति, दमकल मार्फत पानी वितरण गर्न गएका बेला केही स्थानीय युवाहरूले उनलाई जातीय विभेदपूर्ण व्यवहार गर्दै गाली बेइज्जती गरेका छन्।
दमकलबाट स्थानीय महिलाहरू पानी लिइरहेको अवस्थामा केही पुरुषहरूले “दलितले छोएको पानी हामी पिउँदैनौं” भन्ने आपत्तिजनक अभिव्यक्ति दिँदै दुर्व्यवहार गरेका थिए।
पासवानले दुःख व्यक्त गर्दै भने, “आगो निभाउन जाँदा दलित हो कि होइन भन्ने कसैले सोध्दैन, तर पानी वितरण गर्न जाँदा जातको आधारमा दुर्ववहार हुँदा साह्रै पीडादायी महसुस भयो।”
“मैले आफ्नो कर्तव्य निभाउन घर, परिवार र बालबच्चालाई छाडी रातदिन केही नभनिकन मेहनत गरिरहेको छु। यस्तो घृणित व्यवहारले अब सेवा प्रवाहमा नै अवरोध पुग्नेछ,” उनले गुनासो गर्दै नगरप्रमुख नागेन्द्र प्रसाद यादवसँग न्यायको गुहार मागेका छन्।
यस घटनाले स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरुलाई स्तब्ध बनाएको छ। बुद्धिजीवीहरू भन्छन्- “जनताको सेवा गर्न खटिएका कर्मचारीमाथि यसरी दुर्व्यवहार हुनु केवल व्यक्तिको अपमान होइन, यो त सम्पूर्ण सार्वजनिक सेवा प्रणालीमाथि नै हमला हो।”
कानुन अनुसार जातीय विभेद र छुवाछूत गर्नेलाई कारबाही हुने प्रावधान छ, तर यस्ता घटनाहरूमा कानुनी कार्यान्वयनको कमजोरीले पीडित झन पीडित बन्न बाध्य छन्।
सार्वजनिक सेवाप्रति सम्मान, सबै नागरिकको समानता र जातीय सद्भाव कायम राख्न सम्बन्धित निकायले तत्काल हस्तक्षेप गर्दै दोषीमाथि कानुनी कारबाही गर्नु अत्यन्त आवश्यक देखिएको छ।

